दक्षिण कोरियामा क्रियाशील नेपाली संघसंस्थाहरूको साझा तथा छाता संगठनको रूपमा स्थापित नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाले आगामी अगस्ट १७ (आइतबार) राजधानी सौलमा ‘विधान संशोधन सम्बन्धी बृहत् भेला’ आयोजना गर्ने भएको छ।
सन् १९९३ मा स्थापना भएको नेपाली सम्पर्क समितिले विगत तीन दशकदेखि कोरियामा रहेका नेपाली संघ–संस्था, बिध्यार्थी, श्रमिक तथा व्यवसायी समुदायबीच आपसी एकता, समन्वय र सहकार्यको प्रवर्द्धन गर्दै आएको छ।
संस्थाका अनुसार, यसपटकको बृहत् भेलाको उद्देश्य संगठनको विधान संशोधन, संस्थागत संरचनाको पुनर्संरचना र भावी कार्यदिशा तय गर्नु रहेको छ। कार्यक्रममार्फत सम्पूर्ण नेपाली समुदायको समावेशी र सक्रिय सहभागिता सुनिश्चित गर्न सकिने अपेक्षा गरिएको छ।
विधान संशोधन प्रक्रिया अघि बढाउन गठित समितिको संयोजकमा डा. एकराज बराल छन् भने दीपक थापा मगर सदस्य सचिवको भूमिकामा छन्।अन्य सदस्यहरूमा भवानीप्रसाद (बिपि) पौड्याल, धर्मराज तिवारी, हर्क विष्ट, ईश्वर धामी, ओमलाल ओली, प्रविण गिरी, किरण बन्जाडे, केदार निरौला, र हरिप्रसाद खनाल रहेका छन्।
नेपाली सम्पर्क समितिले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था, बिध्यार्थी ,श्रमिक, पत्रकार तथा सरोकारवालाहरूलाई अनिवार्य उपस्थित भई संगठनको भविष्य निर्माणमा सक्रिय योगदान दिन आग्रह गरेको छ। भविष्यको संस्थागत ढाँचा परिमार्जन गर्ने महत्वपूर्ण अवसरका रूपमा यस भेला हेरिएको छ।
संयोजक डा. बरालले भनेका छन्, “यो कार्यक्रम केवल संशोधनको प्रक्रियामात्र नभई कोरियास्थित सम्पूर्ण नेपाली समुदायको संस्थागत समृद्धि र सहभागिताको दिशातर्फको कदम हो।”
भेला बिहान ११:०० बजे, सउलको छोङ्रोगु, छाङ्सिन्गील 51 (छाङ्सिन्दोङ), छोङ्रोछुङ्आङ सेमाउलगुम्गोको ५ औं तलाको हलमा हुनेछ।
(साभारः nayaupdate.com)
