उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरु

समाचार

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही समय पहिला सुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्त्वपूर्ण साबित भइरहेको बताए ।

उनले काठमाडौँ उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान सुरु भएको जानकारी दिए । यसले घर, समाज र देशलाई नै सुरक्षित बनाउने जिकिर गरे । यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी रहेको बताए ।

महानिरीक्षक थापाले भने, ‘हामीले अहिले लागुऔषधविरुद्धको महाअभियान भनेर जुन चलायौँ । यसले एकदमै राम्रो भएको छ । काठमाडौँ उपत्यकाले लागुऔषध विरुद्धको घर अभियान भनेर दुई महिनाअघिबाट सुरु गरेको छ । ललितपुर महानगरपालिकाबाट सुरु भएको छ । घरघरमा गएर परिवारलाई र समाजलाई सुरक्षित बनाउन अभियान चलेको छ । अब सङ्घ, संस्था, समुदाय, प्रदेश, स्थानीय सरकारसँग लागुऔषधविरुद्धका अभियानमा लाग्नुपर्नेछ । पार्टनरसिप एक्टिभिटिज गरिरहेका छौँ ।’

महानिरीक्षक थापाले लागुऔषधविरुद्धको महाअभियान लागुऔषध नियन्त्रणका लागि महत्त्वपूर्ण साबित भएको बताए । यसलाई अझै प्रभावकारी बनाउन थप योजना र रणनीति बनाउन जरुरी रहेको बताए ।