वाग्मतीमा लामाको राजीनामा स्वीकृत, २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

राजनीति समाचार

काठमाडौं । वाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्री लामाका तर्फबाट प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले बुझाएको राजीनामापत्र देवकोटाले सोमबार (साउन १९) स्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले सोमबारै दिउँसो २ बजेदेखि लागु हुने गरी २४ घण्टाभित्र मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान समेत गरेका छन् । संविधानको धारा १६८(२) अनुरूप मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नयाँ मुख्यमन्त्रीका निम्ति नेपाली कांग्रेस वाग्मती संसदीय दलका नेता इन्द्र बानियाँसहितका प्रदेशसभा सदस्यहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छन् । तर, बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बाँकी रहेको प्रदेश प्रमुखको कार्यालयका एक अधिकारीले जानकारी दिए ।