दक्षिण कोरियामा सक्रिय सस्था नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा यही अगष्ट १० तारिक सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा विविध कार्यक्रमसहित मनाइने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा यहि २०८२ साउन २६ गते (अगष्ट १०, २०२५), आइतवार विहान ११ बजेदेखि सउलको दोम्योअप स्टेशन (लाइन नं. १), गेट नं. ३ नजिकैको कार्यक्रमस्थलमा आयोजना गरिने भएको हो।
‘‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर !युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर ! भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा बसेका नेपालीहरूलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने प्रयास हो। यस्तै, युनिस्को र आइएलओ १६९ अन्तर्गत सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको कार्यान्वयनको मागसमेत कार्यक्रममार्फत उठाइनेछ।
सांस्कृतिक पक्षमा झनै आकर्षक बनाइएको यस कार्यक्रममा मगरको कौराह, गुरुङको सोरठी, राईको सिलि, लिम्बुको केलाङ (च्याब्रुङ), तामाङको सेलो र डम्फु, नेवारको धिमे नाच, थारुको मघौटो, शेर्पा र ह्योल्मो समुदायको स्याब्रु, साथै सुदूरपश्चिमको मौलिक देउडा नृत्य र गायन प्रस्तुत गरिने छ। विविधताको रंगमा रङ्गिएको यो सांस्कृतिक प्रस्तुति नेपालीपनको गहिरो अनुभव दिलाउनेछ।
‘‘संस्कृतिक प्रबद्र्धन र साँस्कृतिक अन्तरघुलनका साथमा सामाजिक रुपान्तरणका निम्ति देशलाई जोड्दै प्रवासमा देश चिनाउने अभियान’’का साथ सहभागीहरूले नेपालको विविध जातीय समुदायहरूको मौलिक स्वादहरू पनि अनुभव गर्न पाउनेछन्। मगर समुदायको बारा र तरुल, गुरुङको भाब्रे रोटी, राई–लिम्बुको वाचिपा र याङ्बेन, तामाङको खाप्से र पानी आलुम, शेर्पा समुदायको खाप्से, थारुको घोँगी–माछा, नेवारको छोइला–चिउरा, साथै कोदोको जाँड र सेलरोटी जस्ता रैथाने परिकारहरू उपस्थित हुने जनाइएको छ।
कार्यक्रम सउल मेट्रो लाइन नं. १ अन्तर्गत दोम्योअप स्टेशनको ३ नम्बर गेटबाट नजिकै रहेको स्थलमा बिहान ११ बजेदेखि सुरु हुनेछ, र प्रवेश सम्पूर्णरूपमा निशुल्क हुनेछ। आयोजकहरूका अनुसार, यो महोत्सव केवल रमाइलोको लागि मात्र नभई, प्रवासमै नेपाली पहिचान जोगाउने, प्रवासी नेपालीहरूलाई आपसी सद्भावमा बाँध्ने र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अभियान पनि हो।
सउलमा यो दिन नेपाली संस्कृतिको बहार देखिनेछ, जहाँ नाच, गान, परिकार र पहिचान एउटै थलोमा एकसाथ प्रस्तुत हुनेछन्। जसले न त भूगोल हेर्छ, न त भाषा — केवल एकता, गर्व र सांस्कृतिक प्रेम महसुस गराउँछ।
📍 स्थान: दोम्योअप स्टेशन (लाइन १), गेट नम्बर ३, सउल
🕚 समय: विहान ११:०० बजेबाट
🎟 प्रवेश: पूर्णरूपमा निशुल्क
( साभारः बिशाल आवाज)
