भोजपुर, २१ साउन ः स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राही घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था बनेको हो ।
यतिबेला स्थानीय तहका वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा भने सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नुपरेको छ ।
सर्भरका कारण सेवा प्रवाहमा समस्या भएपछि भोजपुर नगरपालिका–५ बोखिमले बिहान कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ । बिहान दुई दिन जति राम्रो ढङ्गले सेवा दिएको भए पनि पछिल्लो समय सर्भरमा त्यही समस्या देखिएको वडासचिव अभिनास राईले जानकारी दिनुभयो । सेवा प्रवाहका क्रममा दैनिकजसो सर्भर नचल्दा सेवाग्राही मारमा पर्ने गरेका उहाँको भनाइ छ ।
उहाँका अनुसार अहिले वडास्तरमा सर्भरमार्फत गर्ने कामको चाप छ, बिहान राम्रो चल्छ कि भनेर कार्यालय खोलेर सेवा प्रवाह गर्दै आएका छौँ । केही दिन त राम्रै चल्यो, अहिले फेरि उस्तै समस्या छ । सर्भर नचल्दा दुईचार मिनेटमा हुने कामको लागि घण्टौँ लाग्ने अवस्था छ ।
सर्भरमा मुख्य रूपमा सामाजिक सुरक्षा र राष्ट्रिय परिचयपत्र, बायोमेट्रिक र सामाजिक सुरक्षा भत्ताबीच लिङ्क गर्न समस्या छ । सर्भर नचल्दा सेवा प्रवाहमा अत्यन्तै समस्या रहेको उहाँको भनाइ छ ।
वडामा सामाजिक सुरक्षा भत्ता लिने तीन सय ५२ जना लाभग्राहीमध्ये बिहान सेवा सञ्चालन गरेर एक सयका हारहारीको नवीकरण सम्पन्न भएको उहाँले बताउनुभयो । प्रायः सबै स्थानीय तहमा सर्भर नल्दा सेवा प्रवाहमा समस्या भएको उहाँले जानकारी दिनुभयो ।
सर्भरमा समस्या आएर सेवा प्रवाहमा कठिनाइ भएपछि नागरिकलाई सहज रूपमा सेवा दिने लक्ष्यले बिहान पनि कार्यालय सञ्चालनमा ल्याएको भोजपुर नगरपालिका–५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । विहानको समयमा पनि पछिल्लो समय समस्या देखिन थालेको उहाँको भनाइ छ ।
