नेपालमा एसियन पावरलिप्टिङ च्याम्पियनसिप २०२५ आयोजना हुने

खेलकुद समाचार

काठमाडौं । एसियन पावरलिप्टिङ च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिस थेनिक्सको आयोजनामा साउन ३० गतेदेखि भदौ १ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत विभिन्न एसियाली देशका १ सय २० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल पुलिस क्लबको सभा हलमा हुने प्रतियोगिता ८ पुरूष र ८ महिला गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । त्यस्तै ६ पुरूष र ६ महिला गरी कुल १२ उमेर समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा समग्रमा १ सय २८ विधा समावेश गरिएको छ । हरेक स्पर्धाका विजेतालाई ट्रफी, मेडल र आकर्षक पुरस्कार प्रदान गरिने बताइए पनि आयोजकले पुरस्कार रकम सार्वजनिक गरेको छैन । लक्की ड्र मार्फत सहभागी पाँच जनालाई १० लाख बराबरको एक वर्षे जीवन विमासमेत उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न ८६ लाख रूपैयाँ खर्च लाग्ने अनुमान छ । आयोजकले आज पत्रकार सममेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।