चिनियाँ राष्ट्रपति नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान

मुख्य समाचार राजनीति

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो । राष्ट्रपति भण्डारीले चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यलाई बिदाइ अभिवादन गर्नुभयो । यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभयो ।
चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो ।
यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई
दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको बिदाइ गर्नुभएको थियो ।
दिउँसो १:४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उहाँको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर बिदाइका लागि प्रतीक्षारत थिए । उनीहरूले करीब दुई घण्टाको प्रतीक्षापछि राष्ट्रपति सीलाई बिदाइ गर्न पाएका थिए । राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर बिदाइ गरेका थिए ।

बिदाइका क्रममा उहाँलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो । कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उहाँको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।
दिउँसो प्रचण्ड गर्मीको प्रवाह नगरी कर्मचारी र सर्वसाधारण सडकमा राष्ट्रपति सीको बिदाइका लागि ओर्लिएका थिए । सधैँ टेलिभिजन र पत्रपत्रिकामा देखेका राष्ट्रपति सीलाई नजिकैबाट स्वागत र बिदाइ गर्न पाउँदा सर्वसाधारण हर्षित देखिन्थ्ये । शनिबार अपराह्न ४ः४५ बजे दुई दिने राजकीय भ्रमणका लागि आउनु भएका उहाँ आज २ः१५ बजे स्वदेश फर्कनुभएको छ । राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो ।
चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबारदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आउनुभएको हो ।