एनआरएनए दक्षिण कोरियाद्वारा ऐतिहासिक पहल: श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा

कोरियाअपडेट

सोमित अधिकारी

सौल/ दक्षिण कोरिया 

दक्षिण कोरियामा रहेका हजारौं नेपाली श्रमिक तथा विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले ऐतिहासिक कार्यको सुरुवात गरेको छ। पहिलोपटक, श्रमिक–विद्यार्थी हेल्प डेस्क को स्थापनामार्फत कोरियामा रहेका नेपालीहरूलाई समर्पित संस्थागत सहयोग सेवा सुरु गर्न लागेको हो।

यस डेस्कको औपचारिक उद्घाटन कार्यक्रम यही २०२५ अगस्ट १७ (आइतवार), साँझ ४:०० बजे सउलको दोङदेमुन क्षेत्रमा भव्य रूपमा सम्पन्न हुनेछ। उद्घाटनलगत्तै सेवा संचालन औपचारिक रूपमा सुरु हुनेछ।

चार महिनामै समाजलाई समर्पित ठुलो कदम

एनआरएनए दक्षिण कोरियाको नेतृत्वमा गत ऐतिहासिक एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष विपिन कुमार गुरुङ र उनकी कार्यसमितिले निर्वाचित भएको चार महिनाभित्रै यस्तो दूरदर्शी र जनउत्तरदायी सेवा संचालनमा ल्याउनु सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण बनेको छ।

हेल्प डेस्कबाट उपलब्ध सेवा–सुविधाहरू:

  • भाषा सम्बन्धी समस्या समाधान
  • कानुनी जटिलता र परामर्श (कोरियन वकिलसहित)
  • स्वास्थ्य, भिसा, कामदार अधिकार, र अध्ययनसँग सम्बन्धित मुद्दाहरूमा सहायता
  • कम्पनीभित्रको विभेद वा दुर्घटनामा त्वरित सहयोग
  • शिक्षा, करियर, र भबिष्य योजना सम्बन्धी मार्गदर्शन

समन्वय, सहयोग र सहकार्यको साझा मञ्च

यो हेल्प डेस्क नेपाली समुदायबीच एकता, सहकार्य र समन्वयमार्फत सेवा प्रवाह गर्ने साझा प्लेटफर्म बन्नेछ।

कोरियामा क्रियाशील सबै सामाजिक संघ–संस्था, पत्रकार, समाजसेवी तथा विज्ञहरूलाई समेट्दै संस्थागत सेवा प्रणाली निर्माण गर्ने यो पहल सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय हो।

कानुनी साथ र पेशेवर टिमको सक्रियता

डेस्कमा कोरियन कानुनी व्यवसायी (Lawyer) नियुक्त गरिएको छ भने, एनआरएनएको कार्यसमितिबाट समर्पित स्टाफहरू नियमित रूपमा सेवा प्रवाहमा खटिने छन्। साथै, सिंगो कार्यसमिति स्वयं सेवा सहजीकरणमा क्रियाशील रहनेछ।

कार्यक्रम विवरण:

मिति: २०२५ अगस्ट १७, आइतवार

समय: बेलुका ४:०० – ५:०० बजे

स्थान: दोङदेमुन, सउल