काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा वैदेशिक रोजगारीका लागि विदेशनीने नेपालीको संख्या बढ्दै गएको छ । विशेषगरी परम्परागत रुपमा खाडी मुलुक मात्र धेरैजसो जाने नेपाली अहिले रोजगारीकै शिलशिलामा विश्वका कैयौं मुलुक पुग्ने गरेका छन् । पछिल्लो प्राप्त तथ्यांक अनुसार नेपाली श्रमकि वैदेशिक रोजगारी खोज्दै विश्वका करिव १५१ देशमा पुग्ने गरेको पाइएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर नेपालीहरू ती देश गएका हुन् ।
विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष ८ लाख ३९ हजार २६६ नेपाली वैदेशिक रोजगारीका क्रममा १५१ देश गएका थिए । वैदेशिक रोजगारीमा जानेमा ७ लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला थिए । वैदेशिक रोजगारीमा जानेमध्ये ११.२५ प्रतिशत संख्या महिलाको थियो । गत आर्थिक वर्ष विश्वका २८ देशमा रोजगारी खोज्दै एक हजारभन्दा ठूलो संख्यामा नेपाली गएका थिए । सोही समयमा विश्वका तीन देशमा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए ।
वैदेशिक रोजगारीको लागि सबैभन्दा ठूलो संख्यामा नेपाली जाने प्रमुख पाँच देशमा चारवटा खाडी राष्ट्र छन् । रोजगारीका लागि सबैभन्दा बढी नेपाली गएका प्रमुख चार देश सबै खाडी राष्ट्र हुन् । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष सबैभन्दा ठूलो संख्यामा नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई) गएका थिए । वैदेशिक रोजगारीका लागि सो समयमा दुई लाख ७४ हजार ५९० नेपाली यूएई गएका थिए ।
वैदेशिक रोजगारीका क्रममा गत वर्ष दोस्रो ठूलो संख्यामा नेपाली साउदी अरेबिया गएका थिए । श्रम स्वीकृति लिएर साउदी अरब जानेको संख्या एक लाख ५२ हजार ५५७ रहेको छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेको तेस्रो ठूलो संख्या कतार गएका थिए । गत आर्थिक वर्ष एक लाख ४० हजार ७९२ नेपाली कतार गएको विभागको तथ्यांकले देखाउँछ ।
रोजगारी खोज्दै चौथो ठूलो संख्यामा नेपाली गत वर्ष कुवेत पुगेका थिए । कुवेतमा ५९ हजार ६५ जना गएका थिए । वैदेशिक रोजगारीको सिलसिलामा पाँचौँ ठूलो संख्या मलेसिया गएका थिए । गत वर्ष ४९ हजार १९७ नेपाली रोजगारीको लागि मलेसिया गएका थिए । वैदेशिक रोजगारीका क्रममा छैटौँ ठूलो संख्यामा नेपाली युरोपेली राष्ट्र रोमानिया गएका थिए । रोमानिया जाने नेपालीको संख्या २७ हजार ८७४ रहेको छ । रोजगारी खोज्दै सातौँ ठूलो संख्यामा नेपाली गत आर्थिक वर्ष २०८१/८२ मा जापान पुगेका थिए । जापान जानेको संख्या २३ हजार ७१ छ ।
आठौँ ठूलो संख्यामा नेपाली दक्षिण कोरिया पुगेका थिए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष १४ हजार २२४ जना नेपाली दक्षिण कोरिया गएका थिए । यस्तै नवौँ ठूलो संख्यामा नेपाली रोजगारीको शिलशिलामा युरोपेली राष्ट्र क्रोएसिया पुगेको विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष विभागबाट श्रम स्वीकृति लिएर १३ हजार ८३५ नेपाली क्रोएसिया गएका थिए । दशौँ ठूलो संख्यामा नेपाली रोजगारीको लागि बहराइन गएका थिए । गत वर्ष ११ हजार ६२४ नेपाली बहराइन गएका थिए ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा माल्दिभ्समा ९ हजार ९६१, साइप्रसमा ९ हजार १८२, ओमानमा आठ हजार ६०१, मौरिसस्मा पाँच हजार ७४०, माल्टामा चार हजार ४५७, सर्वियामा तीन हजार २८५, बुल्गेरियामा दुई हजार ७३ र जोर्डनमा दुई हजार ५२ जना नेपाली गएका थिए ।
यस्तै, पोर्चुगलमा दुई हजार नौं, टर्कीमा एक हजार ७९६, मकाउमा एक हजार ५१३, इजरायलमा एक हजार ३४२, स्लोभाकियामा १ हजार ३२३, अष्ट्रियामा एक हजार ३०६, अजरवैजानमा एक हजार २१३, स्लोभेनियामा एक हजार १७९, पोल्याण्डमा एक हजार १६६ र ब्रुनाईमा एक हजार १२३ नेपाली गएका थिए । यसरी पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या बढेसँगै श्रमको गन्तव्य देशहरु पनि बढ्दै गइरहेको छ ।
