काठमाडौं । आज गाइजात्रा उपत्यकासहित देशका विभिन्न स्थानमा धूुमधामकासाथ मनाइदैं छ । विशेष गरी काठमाडौँ उपत्यकामा, रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ।प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने गाईजात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ । गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको पर्व हो । गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । 
गाईजात्राको अवसरमा नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित रहँदै आएको छ । यस पर्वमा नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । यसरी दिवङ्गत व्यक्तिको सम्झना गर्दै गाईजात्रा निकाल्दा उनीहरूको आत्मले सहजै वैतरणी पार गर्न सक्छन् भन्ने धार्मिक विश्वास पनि समाजमा रहेको छ ।


