काठमाडौं २६ साउन । प्रेमध्वज प्रधान फाउन्डेसनले कला संस्कृति क्षेत्रका विभिन्न स्रष्टालाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित सो कार्यक्रमा स्रष्टाहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गीतकार प्राज्ञ उन्नति बोहरा ‘शीला’ सङ्गीतकार प्राज्ञ प्रदीप बमजन, गायक आनन्द कार्की, कलाकार रमेशनाथ खनाल, चर्चित मोडल सजिना लामिछाने, नायकहरू कृष्ण मल्ल र रवीन्द्र खड्का, नायिका एवं आध्यात्मिक अभियन्ता शोभिता सिंखडा, विश्व कीर्तिमानी सर्जक डा. डीआर उपाध्याय, कवि एवं समाज सेवी विसन थापा लगायतका स्रष्टा, सर्जकहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
