काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदै छ । वैदिक सनातन धर्मावलम्वीले भगवान् श्रीकृष्णको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी कृष्णाष्टमी पर्व मनाइरहेका हुन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।
यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज विराटनगरस्थित राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तालुहरूको घुइँचो छ । भक्तजनहरूले बिहानैदेखि विराटनगरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना गरिरहेका छन् ।
