सोमित अधिकारी
सउल (दक्षिण कोरिया), अगस्ट १७
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले आजदेखि नेपाली श्रमिक तथा विद्यार्थीहरूको समस्या समाधान र सहजताका लागि पहिलोपटक औपचारिक रूपमा HELP DESK सञ्चालनमा ल्याएको छ। राजधानी सउलको दोङदेमुनमा आयोजित भव्य उद्घाटन समारोहमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी प्रमुख अतिथि रहने भएका छन्।
एनआरएनएको ताजा ऐतिहासिक एकता महाधिवेशनपछि निर्वाचित अध्यक्ष विपिनकुमार गुरुङको नेतृत्वमा गठन भएको कार्यसमितिले निर्वाचित भएको चार महिनाभित्रै यो महत्वपू्र्ण सामाजिक पहलको थालनी गरेको हो।

नेपाली श्रमिक–विद्यार्थीका लागि साझा मञ्च
दक्षिण कोरियामा नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या तीव्र रूपमा बढ्दै जाँदा उनीहरूले भोग्ने समस्या पनि जटिल बन्दै गएको अवस्थामा हेल्प डेस्कले प्रत्यक्ष सहयोग गर्नेछ।
हेल्प डेस्कमार्फत निम्न सेवा उपलब्ध हुनेछन्:
- भाषागत समस्या समाधान
- कोरियन वकिलमार्फत कानुनी सहयोग
- स्वास्थ्यसम्बन्धी सल्लाह
- कम्पनीभित्र हुने विभेद वा दुर्घटनामा सहयोग
- भिसा, अध्ययन तथा करियर परामर्श
- आवश्यक कानुनी प्रक्रिया तथा अधिकारका विषयमा आवाज उठाउने सहजीकरण
संस्थागत सेवा र समन्वय
संघले हेल्प डेस्कमा नियमित स्टाफ खटाउने व्यवस्था गरेको छ। साथै, सम्पूर्ण कार्यसमिति र स्थानीय विज्ञ, पत्रकार तथा समाजसेवीहरूसँग सहकार्य गर्दै यसलाई साझा संस्थागत मञ्चको रूपमा अगाडि बढाउने योजना रहेको अध्यक्ष गुरुङले बताए।
ऐतिहासिक कदम
मन्त्री शरदसिंह भण्डारी स्वयमले यो कार्यक्रम उद्घाटन समारोहमा भाग लिने हुदा नेपाली श्रमिक र विद्यार्थीहरूको हितका लागि एनआरएनए दक्षिण कोरियाद्वारा गरिएको यो पहल ऐतिहासिक हुने आयोजकले बताएको छ।
यससँगै अब दक्षिण कोरियामा रहेका हजारौं नेपाली श्रमिक र विद्यार्थीहरूले आफूलाई परेको समस्या छिट्टै समाधान गर्न सक्ने अपेक्षा गरिएको छ।
