सोमित अधिकारी
सौल/ दक्षिण कोरिया ।
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले श्रमिक तथा विद्यार्थीहरूको हितका लागि ‘श्रमिक–विद्यार्थी हेल्प डेस्क’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

राजधानी सौलमा आइतबार आयोजित भौतिक तथा भर्चुअल संयुक्त समारोहमार्फत हेल्प डेस्कको समुद्घाटन गरिएको हो । कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता रहेको थियो ।
समारोहमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारी भर्चुअल माध्यमबाट प्रमुख अतिथिको रुपमा सहभागी थिए । त्यस्तै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का अध्यक्ष महेश श्रेष्ठ पनि भर्चुअल माध्यमबाट विशेष अतिथिको रुपमा उपस्थित भए भने, पूर्व ICC अध्यक्ष तथा एनआरएनए एकता उच्चस्तरीय समितिका पूर्व सदस्य विनोद कुवर विशेष अतिथिको रुपमा प्रत्यक्ष उपस्थित भएका थिए।

समारोहमा कोरिया स्थित विभिन्न संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, विद्यार्थी, श्रमिकलगायत नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।
एनआरएनए दक्षिण कोरियाले हाल बढ्दो संख्यामा रहेका नेपाली श्रमिक र विद्यार्थीहरूले भोग्नुपरेका भाषा, कानुनी, स्वास्थ्य, भिसा, करियर तथा रोजगारसम्बन्धी समस्या समाधानका लागि हेल्प डेस्क स्थापना गरेको हो । यसमार्फत उनीहरूले दुर्घटना, विभेद, कानुनी जटिलता लगायतका विषयमा परामर्श र सहयोग प्राप्त गर्न सक्नेछन् ।
भर्चुअल सम्बोधन गर्दै एनआरएनए ICC अध्यक्ष श्रेष्ठले दक्षिण कोरियाबाट सुरु भएको यो पहल नै एनआरएनएले गर्नुपर्ने वास्तविक काम भएको बताए। उनले श्रम मन्त्रालयसँग सहकार्य गर्दै ‘श्रम संसार’ डिजिटल पोर्टलमार्फत अझ व्यापक ढंगले सहयोग गर्ने जानकारी दिए।
त्यस्तै, मन्त्री भण्डारीले प्रवासी नेपाली श्रमिकका समस्यामा संलग्न भई काम गरेकोमा एनआरएनए दक्षिण कोरियाको प्रशंसा गर्दै नेपाल सरकार र श्रम मन्त्रालय सहकार्यका लागि तत्पर रहेको बताए। उनले श्रमिकलाई सहज बनाउन मन्त्रालयले सुरु गरेको ‘श्रम संसार’ डिजिटल पोर्टललाई अन्य मुलुकमा पनि विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
समारोहको समापन गर्दै अध्यक्ष गुरुङले हेल्प डेस्क सेवा भावका साथ सञ्चालनमा ल्याइएको र केही दिनमै दुई दर्जनभन्दा बढी समस्या दर्ता भई केहीको समाधान भइसकेको जानकारी दिए।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जित कुवरले दिएका थिए भने कार्यक्रम सन्चालन महासचिव अजय सोडारीले गरेका थिए।
