रमेश सिवाकोटी
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियाको महान पर्व छुसकको अवसरमा “लुम्बिनी साँगीतिक महोत्सव-२०२५” आयोजना हुने भएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको मुख्य आयोजनामा पहिलोपटक हुने सो महोत्सव आगामी अक्टोबर ६ तारिख सोमबार सउलस्थित गन्गुक विश्वविद्यालयको सेछन् न्यन्ग्वान थेगोङ्यन्जाङमा हुनेछ।

“पवित्र लुम्बिनी, बुद्धको जन्मस्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा नेपाली सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ। यसमार्फत दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई अझ एकताबद्ध बनाउन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष हिमाल खनालले बताएका छन्।
आयोजक संस्थाका अनुसार महोत्सवमार्फत आपतकालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्य अघि सारिएको साथै नेपालबाट चर्चित कलाकारसमेत सहभागी हुनेछन् भने उनीहरूको नाम केही समयपछि सार्वजनिक गरिनेछ। यस कार्यक्रमलाई सफल बनाउन राप्ती समाज दक्षिण कोरिया साथै लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लागत तथा क्षेत्रगत संघ–संस्थाहरू सह-आयोजकका रूपमा रहने बताईएको छ। त्यस्तै, नेपाली सम्पर्क समिति दक्षिण कोरिया सहजीकरणको रुपमा संलग्न हुनेछ।
कार्यक्रममा विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीका क्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थित भई महोत्सवलाई भव्य र सफल बनाउन हार्दिक निमन्त्रणा गरिएको आयोजक संस्थाले जनाएको छ।
