बागमती, ५ भदौः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकार गरिब, विपन्न, निमुखा र आवाजविहीन जनताको पक्षमा दृढताका साथ उभिने बताउनुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले गरिब, विपन्न र निमुखा जनताको प्राथमिकता नै आफ्नो नेतृत्वको सरकारको प्राथमिकता भएको बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका गरिब, विपन्न तथा एकल महिलाका बालबालिकाहरुलाई पढाउनेदेखि गरिब, विपन्न परिवारको लागि आफ्फ्नै तलबभत्ताबाट घर बनाईदिने कार्यक्रम अघि सारेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले मेडिकल पढ्न चाहने गरिब, विपन्न परिवारका छोराछोरीलाई प्रदेश सरकारले छात्रबृति प्रदान गर्ने बताउनुभयो ।
महिलाको संवैधानिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुहुँदै उहाँले महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने योजना प्रदेश सरकारको रहेको बताउनुभयो ।
उहाँले राजनीतिलाई नाफा नोक्सानको व्यापार नभई न्याय र सेवाको माध्यम बनाउनुपर्नेमा जोड दिनुहुँदै पार्टीभित्र रहेको भ्रम र गुटबन्दीलाई त्यागेर अघि बढ्न सबै नेता कार्यकर्तासँग आग्रह गर्नुभयो ।

