काठमाडौँ, भदौः विभिन्न राजनीतिक दलका नेताहरूले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका निम्ति अग्रगामी विचार तथा दृढ इच्छा शक्ति भएको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ विषयक अन्तरक्रियामा सहभागी नेताहरूले राजनीतिक उपलब्धिको रक्षा र जनजीविकाका सबाल सम्बोधन गर्न इमान्दार बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता औँल्याउँदै विचारकै पुनःसंरचनाको खाँचो रहेको बताउनुभयो । “अहिले विश्वभर विचारको खडेरी छ, यो हाम्रो मूल समस्या हो । विचारकै पुनःसंरचना गरेर समय र परिस्थितिअनुसार जान जरूरी छ”, उहाँले भन्नुभयो, “विकसित ज्ञान, विज्ञान, प्रविधि र चेतनामा आधारित नयाँ विचारको निर्माण गर्न आवश्यक छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक रूपान्तरणका लागि उमेरभन्दा पनि विचारमा युवा नेतृत्व आवश्यक भएको बताउनुभयो । “विचारको हिसाबले नयाँ दृष्टिकोण अघि सार्नुपर्छ, विचारले नै जनतालाई आकर्षित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपालका राजनीतिक दल विचार र सिद्धान्तका आधारमा खस्कँदै गएको बताउनुभयो । राजनीतिक दलमा पुस्तान्तरण नहुँदा जनतामा असन्तुष्टि बढेको उहाँको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा लिपिबद्ध राजनीतिक उपलब्धिको लाभ जनताले महसुस गर्न नपाउँदा चौतर्फी प्रश्न उठेको बताउनुभयो । “संविधानमा प्रगतिका कुरा लेखिएको छ, तर जनताले भोग्न पाएका छैनन् । संविधानको उपयोग गर्ने अवस्था सिर्जनामा हामी चुकिरहेका छौँँ”, उहाँले भन्नुभयो ।
–––
