मोडल सञ्चिता शाहीलाई छायाँछवि दिपाशा स्मृति पुरस्कार

मनोरन्जन समाचार

काठमाडौं ८ भदौं । छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ । सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११०००÷– राशि सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।

यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना नारी कलाकारहरुलाई सम्मान समेत गरीएको छ । गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मीद्वय संगीता राना मगर र अप्सना नेवा हायु लाई तीज म्युजिक अवार्डका अवसरमा सम्मान गरिएको छ । साथै तीज नारी सम्मान अन्तर्गत नै वोस्टर्न अमेरीका निवासी गायिका शुशीला वस्नेत तिमील्सीनालाई डायस्पोरा सम्मान प्रदान गरिएको छ । सम्मान बिशिष्ट अतिथी चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अवार्डका अध्यक्ष शान्तिप्रिय, अवार्ड संयोजक कृष्णा आचार्य रोशनीले प्रदान गरेका थिए ।

अवार्ड कार्यक्रममा केहि नृत्य तथा गायन प्रस्तुति समेटीएको थियो । आर्या कोइराला एवंं डिम्पल नगरकोटीले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिकाहरु अञ्जु श्रेष्ठ र रेखा शाहले गायन प्रस्तुति दिएका थिए । कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना एवं अतिथीका रुपमा साहित्यकार राधेश्याम नेपाली, संस्कृतिकर्मी आर सी कोइराला, गायिका मञ्जु थापा, गीतकार कस्तुप पन्त, लगायत चलचित्रकर्मी एवं संगीतकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा छायाँछविका अध्यक्ष शान्तिप्रियले अवार्डको उद्येश्यमाथी प्रकाश पारेका थिए भने दीपज्योति थापाले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।