धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा : कृषिमन्त्री अधिकारी

कृषि समाचार

काठमाडौँ, १२ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाई खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताउनुभएको छ ।

धानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तरराष्ट्रिय संस्था (इरी)को एसिया निर्देशक डा जोङ्ग सूसँग आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान, चामलमा आत्मनिर्भर रहे पनि जनसङ्ख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग एवं खपत बढ्दै गइरहेको बताउनुभयो । यसैले आन्तरिक उत्पादनले माग नधानेपछि पछिल्ला वर्षहरूमा धान चामल आयातमा ठूलो धनराशि खर्च हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान चामल उद्योगसँग सहकार्य गर्नेलगायत सक्दो प्रयास गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेका कारण बढी उत्पादन दिने जलवायु अनुकूलनका धानका जातहरूको विकासमा इरीले महत्त्वपूर्ण योगदान गरेकोमा इरीको प्रशंसा गर्नुभयो ।

“हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ, यसका लागि हामीले विगतदेखि नै विभिन्न प्रयास र पहल गर्दै आएका पनि छौँ, कुनै आयोजना नहुँदा पनि सरकारको तर्फबाट धान अनुसन्धान र विकासमा सहयोग गर्न इरीको विशेषज्ञता र क्षमतालाई उपयोग गर्नेगरी कोष व्यवस्थापन गर्ने दिशामा हामी लागेका छौँ”, मन्त्री अधिकारीको भनाइ थियो ।

भेटका क्रममा इरीका एसिया निर्देशक जोङ्ग सूले इरीलाई नेपाल सरकारबाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दै आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । भेटमा इरीका नेपाल प्रतिनिधि डा हुमनाथ भण्डारीसहित मन्त्रालयका अधिकारीहरू पनि हुनुहुन्थ्यो ।