‘निजामती सेवामा अवकाश उमेर हदबारे निष्कर्षमा पुग्न सकिएन’

प्रशासन राजनीति समाचार

काठमाडौँ, १५ भदौः सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले अझै टुङ्गो लगाउन सकेन ।

प्रतिनिधिसभाले ऐन लागू भएको पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र त्यसपछिको वर्षदेखि ६० वर्षको उमेर हदमा अनिवार्य अवकाश हुनेगरी पारित गरेको छ ।

आज बसेको समिति बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ५९ वर्षबाट कार्यान्वयन सुरु गरेर ६० वर्षमा पु¥याउने प्रस्ताव गर्नुभएका त्यसमा सहमति जुट्न सकेन । उहाँले प्राविधिक कारणले ५९ वर्षबाट अवकाश सुरु गर्न उपयुक्त देखिएको बताउनुभयो । मन्त्री न्यौपानेले भन्नुभयो, “प्राविधिक रूपमा अप्ठ्यारो भएर मात्र हो, कुनै व्यक्ति विशेषलाई ल्याइएको होइन । विनम्रपूर्वक भन्छु यो प्रस्ताव सहर्ष स्वीकार गरेर जाऔँ ।”

समितिमा केही सांसदले व्यक्तिगत लाभका लागि सहमति भइसकेको विषयमा पुनर्विचार गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

मन्त्रालयकी सहसचिव मीरा आचार्यले सङ्गठन तथा व्यवस्थान (ओएनएम) प्रक्रिया र पदपूर्तिमा पर्ने असरलाई देखाउँदै अवकाशको उमेर ५९ बाट सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समिति सभापति तुलसाकुमारी दाहालले मन्त्रालयलाई प्राविधिक रूपमा अप्ठ्यारो हुने भएकाले परिमार्जन गरेर जाउँ भन्ने उद्देश्यले यो दफामा पुनर्विचार गर्न खोजिएको बताउनुभयो । यस विषयमा निर्णय गर्न समितिको बैठक भोलि पुनः बस्नेछ ।