पाटन (ललितपुर), १९ भदौ : कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको आज यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले किसानको उन्नति र प्रगतिका लागि यान्त्रिकरण, औद्योगिकीकरण आवश्यक रहेको बताउनुभयो ।
“आफ्नै देशमा उत्पादन बढाउँदै आत्मनिर्भर हुन आवश्यक छ, त्यसका लागि किसानले खेतीयोग्य जमिनको उपयोग गर्न सकौँ”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले १८ वर्षपछि वडा तहदेखि गाउँनगर, क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय तहसम्म अधिवेशनमार्फत नेतृत्व चयन हुँदा सङ्गठन चलायमान बन्दै गएको बताउनुभयो ।
नेपाल किसान महासङ्घका पूर्वअध्यक्ष भानु सिग्देलले सङ्गठनलाई सबल, सुदृढ र गतिशील बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागका संयोजक डा गङ्गालक्ष्मी अवालले किसानहरू संसारको सम्पूर्ण प्राणीहरुको संरक्षक भएकाले किसानले उत्पादनको वास्तविक मूल्य प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङ्गालले महाधिवेशनले किसानका हकहितका मुद्दामा प्रभावकारी सन्देश दिन सक्ने आशा व्यक्त गर्नुभयो । क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सामाजिक आर्थिक समानता र वर्गीय शोषणको अन्त्य गर्दै नेपालको किसान आन्दोलनलाई सफलतातिर लैजानुपर्नेमा जोड दिनुभयो ।

