जेन जी आन्दोलनका शहीदहरुको बलिदानी खेर नजाओस !

मुख्य समाचार समाचार

जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा बुधबार देशभर शोक मनाइदै छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७२ जनाको मृत्यु भएको थियो । जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा यही भदौ ३० गतेको मन्त्रिपरिषद बैठकले आजकै दिन राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । त्यहि निर्णय अनुसार बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइएको छ । भ्रष्टाचारविरुद्ध सशक्त युवा आवाजमाथि राज्यको बर्बर दमनका कारण ७३ जनाले बलिदानी दिनु परेको हो । यसैगरि हजारौं घाइते अवस्थामा विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रशासन तथा प्रहरीका कार्यालयहरु देशभर जलाइएको छ, क्षतविक्षत भएको छ । आन्दोलनका क्रममा भएको हिंसात्पक कृत्य र ध्वंसात्मक गतिविधिको न्यायिक छानवीनको लागि आयोग बनेको छ । आयोगले सत्य तथ्य छानविन गर्नुपर्छ । यो केबल दुःखद परिघट्ना मात्र होइन, देशको ऐतिहासिक यात्राको एउटा गम्भीर मोड पनि हो । देशमा सुशासन, जवाफदेहीता र पारदर्शिता स्थापित होस् भन्ने माग राख्दा बगाउनु परेको प्रत्येक थोपा रगतले नेपाली समाजलाई ब्युझाइरहने छ । इतिहासले प्रमाणित गरेको छ कि नागरिकको आँसु रगत र पीडाले देशमा पुनर्जागरण लिएर आएको छ ।

मिति २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनमा बर्बर दमन हुँदा २१ जनाले ज्यान गुमाउनु परेको दिन नेपालको इतिहासमा एउटा कालो दिनका रूपमा अंकित भएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउने जेन जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमाथि संसद भवनअगाडि प्रहरीले चलाएको गोलीले १४ जना युवाहरूको ज्यान लियो। यो घटनाले देशलाई स्तब्ध बनायो र भोलिपल्ट भदौ २४ गते देशभर जनआक्रोशको ज्वालामुखी फुट्यो। यो आक्रोशले सरकारी तथा निजी आवासहरू जलेर खरानी भए, जसबाट अहिले सम्म ७२ जनाको ज्यान गयो। यस आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको दलीय गठबन्धन सरकारलाई विस्थापित गरी सुशीला कार्कीको नेतृत्वमा दलविहीन सरकार गठन गर्न बाध्य पाऱ्यो, जसको मुख्य जिम्मेवारी ६ महिनाभित्र संसदको निर्वाचन सम्पन्न गर्नु रहेको छ। सँगै युवाहरुले उठाएको भ्रष्टाचार र सुशासनको अहं कार्यलाई नविनतम र द्रुत गतिमा अगाडि बढाउनु पर्दछ । यो भनेको अहिलेसम्म थाति रहेका भ्रष्टाचारका ठुला काण्डहरुको रोकिएको छानविनलाई अगाडि बढाउने र अझै ०४६ साल यताका राजनीतिक तथा उच्च तहमा रहेका व्यक्तिहरुको सम्पत्ति छानवीन गर्ने र कारवाही गर्ने ठूलो जिम्मेवारी युवाहरुले सत्ता परिवर्तन मार्फत् जेन जी युवापुस्ताले दिएको छ ।

यो परिवर्तनले आशाको किरण जगाए पनि, जेन जी आन्दोलनका मूल मुद्दाहरू अझै थाती नै छन्। शहीदहरूको सपना कसरी पूरा हुन्छ ? आन्दोलनले कसरी सार्थकता पाउँछ ? र, उनीहरूको बलिदान खेर नजाओस् भन्नका लागि के—के गर्नुपर्छ ? यी प्रश्नहरूको उत्तर खोज्नका लागि विद्यमान परिस्थितिमा गम्भीर भएर लाग्नु पर्दछ । पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा, सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले ६ महिनाभित्र निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु पर्छ। यो निर्वाचनले साँच्चिकै जनताको प्रतिनिधित्व गर्ने दल र नेताहरूलाई संसदमा पुर्याउनु पर्छ। विगतमा जस्तो सत्ताको लोभमा दलहरूबीचको खिचातानी र भ्रष्टाचारका कारण जेन जी युवाहरूले विद्रोह गर्नुपरेको थियो, त्यो अवस्थाको पुनरावृत्ति हुन दिनु हुँदैन। निर्वाचन प्रक्रियामा युवाहरूको सहभागिता बढाउन र उनीहरूको आवाजलाई सुन्ने संयन्त्र निर्माण गर्न आवश्यक छ।

दोस्रो, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि ठोस कदम चाल्नुपर्छ। जेन जी आन्दोलनको मूल नारा नै भ्रष्टाचारमुक्त नेपाल थियो। यसका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्ने, सम्पत्ति शुद्धीकरणमाथि निगरानी बढाउने र सरकारी संयन्त्रमा पारदर्शिता ल्याउनुपर्छ। सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती, अनियमितता र बिचौलियाको बिगबिगी अन्त्य गर्न प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। ‘ुई(गभर्नेन्स’ को अवधारणालाई पूर्ण रूपमा लागू गरी जनतालाई सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ। तेस्रो, शहीद परिवारलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ। सरकारले तत्कालका लागि शहादत प्राप्त परिवार जनलाई १० लाख र घाइते युवाहरुको उपचारको व्यवस्था उपलब्ध गराउने घोषणा गरेको छ । अन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई राष्ट्रिय शहीद घोषणा गरी उनीहरूको सम्मानमा स्मारक निर्माण गरिनुपर्छ। उनीहरूको परिवारलाई आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभूति दिनुका साथै घाइतेहरूको उपचार र पुनर्स्थापनाको व्यवस्था अझै राम्रोसँग मिलाउनु पर्दछ । यसले आन्दोलनप्रति सरकारको संवेदनशीलता र शहीदहरूप्रति राष्ट्रको कृतज्ञता झल्काउँछ।

चौथो, युवाहरूको सशक्तिकरण र उनीहरूको भविष्य निर्माणमा लगानी गर्नुपर्छ। जेन जी आन्दोलनले देखाएको एउटा प्रमुख पक्ष भनेको युवाहरूमा रहेको निराशा र भविष्यप्रतिको चिन्ता हो। रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षामा गुणस्तर वृद्धि गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने र उद्यमशीलताको विकास गर्ने कार्यक्रमहरू ल्याउनुपर्छ। विदेश पलायन हुने युवाहरूको संख्यालाई घटाउन स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ।

पाँचौ, दलविहीन सरकारले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुपर्छ। यस्तो अवस्थामा दलहरूले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्छ। संविधान संशोधन, संघीयताको, सीमान्तकृत वर्गको उत्थान जस्ता महत्वपूर्ण मुद्दाहरूमा साझा धारणा बनाएर अघि बढ्नुपर्छ। यतिबेला युवाहरुले आन्दोलन मार्फत् उठाएका मुख्य मुद्दाहरु भ्रष्टाचार नियन्त्रण, सुशासन, कार्यकारी प्रमुखको निर्वाचन प्रत्यक्ष, प्रदेश संरचना खारेजी लगायतका मागहरु पनि छन् । जुन अहिलेको संवैधानिक व्यवस्था र संसदीय दलहरुको सिद्धान्तभन्दा अलि फरक छ । यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषय पनि पेचिलो देखिन्छ । युवाहरुले सरकार होस वा राजनीतिक दल हरेक क्षेत्रमा युवा नेतृत्व चाहेका छन् पनर्संरचना चाहेका छन् । यसलाई पनि राजनीतक दलहरुले युवाको चाहना भनेर सम्बोधन गर्नुपर्दछ । पछिल्लो राजनीतिक परिवर्तन र सिर्जना भएको परिस्थितिमा देशको सम्पूर्ण पुनर्संरचना र पु्ननिर्माण गर्नुपर्ने भएकाले प्रतिशोध र पुर्वाग्रहको भावना छोडेर एकता र सहकार्यबाट अगाडि बढ्नु पर्ने आवश्यकता छ ।

अन्त्यमा, जेन जी आन्दोलनले नेपाली समाजमा एउटा नयाँ चेतना प्रवाह गरेको छ। यसले युवाहरू अब चुप लागेर बस्दैनन् भन्ने सन्देश दिएको छ। शहीदहरूको सपना पूरा गर्न र आन्दोलनलाई सार्थक बनाउन सरकार, राजनीतिक दल र नागरिक समाज सबैको उत्तिकै भूमिका हुन्छ। यदि यी कदमहरूलाई इमान्दारिताका साथ अगाडि बढाइएन भने, शहीदहरूको बलिदान खेर जानेछ र फेरि अर्को विद्रोहको बिउ रोपिनेछ। यसकारण, यो क्षण नेपालको भविष्यका लागि एउटा महत्वपूर्ण मोड हो, जहाँ हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ।