काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले केही दिनयता देखि नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ । तर युएईले नेपालीको लागि एकाएक भिजिट भिसा दिन रोक लगाएको बारे कुनै औपचारिक जानकारी भने आएको छैन । प्राप्त स्रोतका अनुसार भदौ २३ गते सोमबार नेपालीका लागि सबैजसो भिसा आवेदनहरु अस्वीकृत भएको पाइएको छ ।
यूएई सरकारले अनलाइन मार्फत् नै भिसा जारी गर्दै आएको छ । युएईको दुबई इमिरेट्सले केही पहिलादेखि नै भिजिट भिसामा कडाइ गरेको थियो । दुबई इमिरेट्सले कडाइ गरेपछि नेपालीहरूले शारजाह इमिरेट्सबाट भिसाका लागि आवेदन दिने गरेका थिए । करिव ९० प्रतिशत दुबईको भिसाा अस्वीकृत भइरहेको अवस्थामा शारजाहको भिषा भने दिइरहेको थियो, अहिले त्यो पनि रोकिएको स्रोतले जानकारी दिएको छ । पछिल्ला केही वर्षदेखि नेपालीहरु भिजिट भिसामार्फत यूएई जाने संख्या ठूलो रहेको छ । भिटिज भिसामै गएर नेपालीहरूले त्यहाँ काम खोजेर वर्किङ भिसामा समेत परिवर्तन हुने गरेका थिए ।
यूएईस्थिथत नेपाली राजदूतावास स्रोतका अनुसार यस विषयमा भिसामा भएको रोकावटबारे दूतावासलाई औपचारिक जानकारी भने प्राप्त भएको छैन । जेन जी आन्दोलनबाट नेपालमा विकसित राजनीतिक घटनाक्रम र यूएईमा बढ्दो नेपालीको समस्यालाई मध्यनजर गरेर भिसामा अस्थायी प्रतिबन्ध लगाएको अनुमान केही जानकार हरुले गरेका छन् । जेन जी आन्दोलनका क्रममा नेपाली जेलबाट भागेका कैदीबन्दीहरु भारतको बाटो भएर प्रवेश गर्न सक्ने खतरालाई मध्य नजर गरेर युएईले भिषा दिन रोक लगाएको हुनसक्ने अनुमान पनि केही जानकार हरुको छ ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ । यस बाहेक कैयन नेपाली भिजिट भिसा मार्फत दुबईलाई ट्रान्जिट बनाएर त्यहाँबाटै सेटिङमा अन्य मुलुकमा पनि पुग्ने गर्छन् ।
