पोर्चुगलमा आप्रवासीको रेसिडेन्स परमिट एयरपोर्टमै खारेज, स्वदेश फर्किने नेपाली प्रभावित हुने

मुख्य समाचार वैदेशिक रोजगार समाचार

पोर्चुगलबाट दशैं मनाउन नेपाल हिँडेका केही नेपालीहरूको आवास अनुमतिपत्र (रेसिडेन्स परमिट) लिस्बन एयरपोर्टमै खारेज भएको समाचारहरु प्राप्त भएको छ । केही नेपाली यात्रुहरूले दशैं मनाउन नेपाल जाँदै गर्दा लिस्बन एयरपोर्टमा पोर्चुगल अध्यागमन अधिकारीहरूले आफ्नो रेसिडेन्स परमिट खारेज गरिदिएको बताएका छन्। उनीहरूको भनाइ अनुसार, अध्यागमनले सो परमिटहरू नक्कली भएको वा म्याद गुज्रिएको भन्दै खारेज गरेको थियो। बुधवार मात्रै पोर्चुगलको राजधानी लिस्वनस्थित एयरपोर्टबाट १२ जना आप्रवासीहरुलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाएको हो । त्यसमा केही नेपाली समेत परेका छन् ।

पोर्चुगल अध्यागमनका अधिकारीहरुले अनाधिकृत रुपमा प्रवेश गरेर आवास अनुमतिपत्र बनाएको आरोप लगाएका बुझिएको छ । सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसा नभई पोर्चुगल प्रवेश गरेका र त्यहाँको आवास अनुमतिपत्र बनाएका आप्रवासीहरुको उक्त अनुमतिपत्र खारेजीको लागि प्रक्रियामा हालिदिएको गैर आवासीृय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले एक विज्ञप्ति जारी गर्दै यस विषयमा पुष्टि समेत गरेको छ । सन् २०२२ मा युकेबाट पोर्चुगल प्रवेश गरेका ती नेपाली यहाँको आवास अनुमतिपत्र लिएर बुधवार नेपाल जाँदै थिए । तर सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसाविना पोर्चुगलमा बसेको र यहाँको आवास अनुमति प्राप्त गरेको भन्दै उनलाई अध्यागमनका अधिकृतहरुले एयरपोर्टमा रोकेका थिए ।

उनले प्राप्त गरेको अस्थायी आवास अनुमतीपत्रलाई अवैध भनेसँगै यहाँ रहेका अरु आप्रवासीहरु पनि अन्यौलमा परेका छन् । यहाँ रहेका प्रायस् आप्रवासीहरु अवैध तरिकाले प्रवेश गरेका छन् । डेढ वर्षअघिसम्म जुनसुकै देशबाट जुन कुनै हालतमा यहाँ आइपुगे पनि कागजी प्रक्रिया सुरु गर्न सक्ने र बढीमा १२ महिनाको कर तिरेपछि कामदारका रुपमा अस्थायी आवास अनुमतिपत्र प्राप्त गर्न सकिने कानूनी प्रावधान थियो । धेरै आप्रवासीहरुले यसैगरी यहाँको आवास अनुमतिपत्र लिएका छन् ।
यस घटनाले नेपाली समुदायमा चिन्ता र अन्योल सिर्जना गरेको छ। झण्डै १२ वर्षसम्म जुनकुनै बाटोबाट आए पनि यहाँ काम गर्न थालेका र सरकारी करमा सामेल भएका श्रमिकहरुलाई एक वर्षसम्म काम गरेपछि अस्थायी आवास अनुमतिपत्र दिने कानून थियो ।

डेढ वर्षअघि खारेज भएको उक्त कानूनी आधारमा नै धेरै आप्रवासीहरु अन्य देशबाट भाग्दै र लुक्दै पोर्चुगल आएर आवास अनुमतिपत्र लिएका थिए । अहिले त्यसरी यहाँ प्रवेश गरेर अनुमतिपत्र लिएकाहरुको हकमा समस्या उत्पन्न भएको हो । अनौपचारिक तथ्याङ्क अनुसार पोर्चुगलमा ७० हजारभन्दा बढी नेपाली छन् । त्यसमध्ये अहिले अध्यागमन अधिकारीहरुले भनेजस्तो ‘अवैध’ रुपमा यहाँ आएर बसोबास थालेकोहरुको संख्या हज्जारौं छ । जसले गर्दा बुधवार देखिएको घटनाले धेरै नेपालीहरुलाई प्रभावित पार्ने छ ।