एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित

मनोरन्जन समाचार

अबिरल आलोक 

मध्य नेपालकै उत्कृष्ट रेडियो कालिका एफ एमको १७ औं वार्षिक तथा १५ औं कालिका म्युजिक अवार्ड कार्यक्रममा एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित भएकी छन्। हुन त पेशाकै रुपमा नृत्यलाई नै आफ्नो अध्ययनको बिषय बनाउदै अगाडि बढेको सिताको चार बर्ष मात्रै भएको छ । तर पनि उनको मेहनतले उनलाई  एउटा सफल नित्याङ्गनाको रूपमा विश्वसामु चिनाएको छ। उनले नृत्य बिधा मार्फत विभिन्न प्रशंसा पत्र र सम्मान प्राप्त गर्दै आइरहेकी छिन ।

चितवन जिल्लाको मेघौलीमा जन्मिएकी सीता सुबेदीको सानै उमेरदेखि कला तथा साहित्य क्षेत्रमा रुचि थियो । सानै उमेरमा यस्ता कला क्षेत्र सम्बन्धि कार्यक्रमहरुमा उनी भाग लिन्थिन । तर उनको जिवनमा १२ बर्षकै कलिलो उमेरमा जिन्दगीले अर्कै मोड लियो। जिन्दगी सङ्ग पौठेजोरी खेल्नु पर्यो । क्यान्सरजस्तो भयानक रोगले उनको सहज जिन्दगीलाई भताभुङ्ग पारिदियो । उनले आफ्नो शरीरबाट एउटा खुट्टा अलग गर्नुपर्ने भयो अर्थात खुट्टा काट्नुपर्यो । अन्ततः उनले डाक्टरको सल्लाह अनुसार खुट्टा काटिन तर उनको कला क्षेत्रमा रमाउने सपना टुट्यो । तर उनले हिम्मत हारिनन । जिन्दगीले जे सिकायो त्यस्लाई झेल्दै गैइन । आफ्नो सपनालाई मनमा राखेर आफ्नो कर्म गर्दै गैइन।

भने जस्तो र सोचे जस्तो कहाँ हुन्छ र जिवन? आधा शरीरकी उनलाई कलाक्षेत्रमा अध्यन गर्न उनको परिवारले अनुमति दिएन किन कि यो क्षेत्रमा सुरक्षित भविस्य थिएन । शायद यो मानेमा उनको परिवारको यो निर्णय उनिप्रतिको अगाध प्रेमको कारण थियो। हुने हार दैव नटार भने झै उनले आफ्ना सम्पुर्ण अप्ठ्यारा र कठिनाइलाई झेल्दै आफ्नो कलाक्षेत्रको भोक आफ्नो अध्यन पुरा गर्दै गर्दा र आफ्नो निर्णय आफै लिन सक्ने भएपछि निरन्तरता दिन थालिन । जसको नतिजा स्वरुप आज नेपाल कै एक मात्र शास्त्रीय (कत्थक) विधामा नृत्य गर्ने नृत्याङ्गनाको रुपमा परिचय बनाउन आफैमा लागिपरेकी छिन । हाल उनले ललितपुर पुल्चोकमा रहेको कलानिधी इन्दिरा सङ्गीत महाबिध्यालयमा तेश्रो बर्षमा अध्ययन गर्दैछिन । त्यस्तै अध्ययनमा उनले नेपाली विषयमा पाटन सङ्युक्त क्याम्पसबाट स्नातकोत्तर सिध्याएकी छिन भने बि.ए.मा नेपाली तथा सङ्गीत बिषयमा पद्मकन्या क्याम्पस बागबजारकी सर्बोत्कृष्ट अङ्क ल्याई उतिर्ण हुने बिध्यार्थी समेत हुन।

उनको नृत्य कुनै एक सवलाङ्ग नृत्याङ्गनाको भन्दा कुनै कोणबाट पनि कमजोर छैन । विभिन्न मेला महोत्सवहरुमा उनी स्टेज चढेपछि चिसिएको माहोलको तापमान ह्वात्तै बढ्ने गर्दछ । दर्शकदिर्घाबाट ताली र हुटिङ वर्षदा आनन्द लाग्ने गरेको बताउने सिताको माग मेला महोत्सवहरूमा अत्यधिक रहेको छ।