काठमाडौँ, ७ असोज: विज्ञहरूले संरक्षण क्षेत्रको दिगोपनाका लागि यसमा भएका सकारात्मक सूचना प्रवाह गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय संरक्षण दिवस–२०८२ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमा विज्ञहरूले संरक्षण क्षेत्रबाट समुदायले प्राप्त गरेका लाभबारे बुझाउनु आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले संरक्षण क्षेत्रबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभ बाँडफाँडलाई छिटोछरितो बनाउन सके संरक्षण कार्य दिगो हुने बताउनुभयो । उहाँले वन्यजन्तुबाट हुने क्षति रोक्न तथा स्थानीय समुदायले प्राप्त गर्ने राहतको प्रावधानलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।
विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले संरक्षणको दिगोपनाका लागि समुदायको जीवनशैलीलाई सँगै जोडर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र प्रभावकारी राहत प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा जोड दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले संविधानअनुसार वनसम्बन्धी नयाँ ऐन तथा नियमावली बन्न नसकेका कारण संरक्षण क्षेत्रमा चुनौती देखिएको बताउनुभयो । संरक्षण क्षेत्रबाट स्थानीयले पाउने लाभको बाँडफाँटलाई सरलीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले संरक्षण क्षेत्रमा हुने द्वन्द्वका घटनालाई मात्र बढी प्रचार गर्दा नकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्दै संरक्षण क्षेत्रले समग्र स्थानीयको जीवनशैलीमा पारेको सकारात्मक प्रभावलाई पनि उजागर गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संरक्षण क्षेत्रको दिगोपनाका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने धारणा राख्नुभयो ।

