जनकपुर, १० असोजः मधेस प्रदेशका सबै प्रहरी कार्यालयहरू पुनः स्थापित गरिएको छ । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका कारण प्रदेशका १३ वटा नेपाल प्रहरीका युनिट पूर्ण रूपमा क्षतिग्रस्त हुनाका साथै ७७ वटामा आंशिक रूपमा क्षति पुगेको थियो ।
क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सामान्य सुधार गरेर प्रहरीलाई पुनः स्थापित गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनका क्रममा प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटमा रु सात करोड ३१ लाख २२ हजार ४०० बराबरको क्षति भएको थियो । जिल्लागत रूपमा धनुषामा २३ प्रहरी युनिटमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदर्शनका क्रममा ८४ प्रहरी र १२ जना सर्वसाधारण घाइते हुनुका साथै एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा २०७ वटा सरकारी कार्यालयमा क्षति पुगेको मधेस प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
