वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले युनिटी कप खेल्न पाएकोमा खुशी व्यक्त गरे । यसअघि नेपाल विरुद्ध नखेले पनि नेपाली क्रिकेटबारे जानकार रहेको उनको भनाइ थियो । वेस्ट इन्डिज दुई पटकको टी ट्वान्टी विश्वकप विजेता टिम हो । उसको टिममा रहेका खेलाडी भखर्र सम्पन्न क्यारेबियन प्रिमियर लिग खेलेर फर्किएका हुन् । नेपालविरुद्ध खेल्ने टिममा पाँच अन क्याप्ड प्लेयर समावेश छन् । नेपालले टी ट्वान्टी विश्वकप छनौटको तयारीस्वरूप यो सिरिज खेल्दैछ ।
स्टुअर्ट ल को टिममा आक्रमक ब्याटिङका लागि परिचित आदिल अन्सारीले पुनरागमन गरेका छन् । यस्तै सन्दीप जोरा पनि टिममा फर्किएका छन् । यो सिरिजलाई नेपाली क्रिकेटको ब्रेक थ्रु का रूपमा हेरिएको छ। गत वर्ष वेस्ट इन्डिज ए नेपाल भ्रमणमा आएको थियो । पाँच खेलको सिरिज पाहुना टिमले तीन दुईले जितेको थियो । तीन खेलमा नेपालले गर्ने प्रदर्शनले महत्वपूर्ण अर्थ राख्नेछ । बलियो टिम वेस्ट इन्डिजसँगको खेल सहज नभए पनि नेपाली टिम उच्च आत्मविश्वासका साथ युएई पुगेको छ ।
विश्वकप छनौटअघि प्राप्त अवसरलाई सक्दो सदुपयोग गर्ने नेपालको लक्ष्य छ । नेपाल र वेस्ट इन्डिज बीचको तीनै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी र कान्तिपुर म्याक्सबाट हुनेछ । शनिबारको पहिलो खेल कान्तिपुर टिभीमा आउनेछ । बाँकी दुई खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण हुनेछन् । तीनै खेलको प्रि म्याच एनालाइसिस पनि गरिनेछ ।
