पुष्पराज गिरी
दशैं नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो। नेपालीहरुका लागि यो पर्वले धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा ठूलो महत्व राख्दछ। दशैं शक्ति, विजय र नयाँ सुरुवातको प्रतीकको चाडपर्व हो। दशैंको धार्मिक महत्व मुख्यतः देवी दुर्गा र भगवान रामसँग सम्बन्धित रहेको देखिन्छ । दशैंको मुख्य धार्मिक पक्ष भनेको नवदुर्गाको पूजा र दानव महिषासुरमाथि देवी दुर्गाको विजय हो। पौराणिक कथा अनुसार महिषासुर नामक शक्तिशाली दैत्यले देवताहरूलाई सताएको र स्वर्गमा कब्जा जमाएको थियो। तब त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) लगायत सम्पूर्ण देवताहरूको शक्तिपुञ्जबाट देवी दुर्गाको उत्पत्ति भयो। देवी दुर्गाले महिषासुरसँग ९ दिन ९ रातसम्म युद्ध गरिन् र दशौं दिनमा महिषासुरको वध गरिन्। यसरी असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुष्टमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा दशैं मनाइन्छ। नवदुर्गाका नौ रूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री) को क्रमशः पूजा गरिन्छ। दुर्गा सप्तशती (मार्कण्डेय पुराणको अंश) मा महिषासुर मर्दिनी देवी दुर्गाको विस्तृत महिमा र विजयको वर्णन गरिएको छ। यसैका आधारमा दशैंमा चण्डी पाठ गर्ने र शक्तिपीठहरूमा विशेष पूजा अर्चना गर्ने प्रचलन रहिआएको छ। यसैगरी भगवान रामले लङ्काका राजा रावणमाथि विजय हासिल गरेको दिनसँगको पौराणिक कथासँग पनि दशैं जोडिएको छ । त्रेतायुगमा भगवान रामले आफ्नी पत्नी सीतालाई रावणको कैदबाट मुक्त गर्नका लागि १० दिनसम्म युद्ध गरेर दशौं दिनमा रावणको वध गरेका थिए। यस विजयलाई पनि विजयादशमीका रूपमा मनाइन्छ, जसले धर्मको अधर्ममाथि विजयको प्रतिनिधित्व गर्दछ। वाल्मीकि रामायणमा भगवान रामको जीवनगाथा, सीता हरण, राम—रावण युद्ध र विजयादशमीको दिन रावणको वधको विस्तृत वर्णन पाइन्छ। भारतका केही भागमा दशैंमा रावणको पुत्ला दहन गर्ने प्रचलन यसै घटनाबाट प्रेरित रहेको देखिन्छ।
दशैं पर्वले नेपाली समाजमा गहिरो सांस्कृतिक महत्व समेत राख्दछ। दशैं परिवारका सदस्यहरू एक ठाउँमा भेला हुने, टीका जमरा ग्रहण गर्ने र मान्यजनबाट आशिर्वाद लिने सबैभन्दा ठूलो अवसर हो। टाढा—टाढा रहेका परिवारका सदस्यहरू पनि दशैं मनाउन घर फर्कन्छन्। यसले पारिवारिक बन्धनलाई अझ बलियो बनाउँछ। दशैंमा नयाँ कपडा लगाउने, मीठा—मीठा परिकारहरू (मासु, सेलरोटी, फिनी, आदि) बनाएर खाने र खुसीयाली मनाउने गरिन्छ। यसले समाजमा उल्लास र उमङ्गको वातावरण सिर्जना गर्छ। दशैंमा पिङ खेल्ने, चङ्गा उडाउने र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू गर्ने चलन छ। यी परम्पराहरूले चाडपर्वको रमाइलो र उत्साहलाई बढाउँछन्। विजयादशमीका दिन मान्यजनको हातबाट निधारमा रातो टीका र कानमा जमरा लगाएर आशिर्वाद लिने प्रचलन दशैंको अनुपम सांस्कृतिक विशेषता हो। जमरालाई अन्नपूर्ण देवीको प्रतीक मानिन्छ भने रातो टीकाले रगत, साहस र विजयलाई जनाउँछ।
दशैंको प्रचलन कहिलेबाट सुरु भयो भन्ने कुराको कुनै ठोस ऐतिहासिक प्रमाण नभए पनि यो चाड हजारौं वर्ष पुरानो रहेको विश्वास गरिन्छ। नेपाल र भारतमा प्राचीनकालदेखि नै शक्ति पूजाको प्रचलन रहँदै आएको छ। विभिन्न शिलालेख, मूर्ति र गुम्बा चित्रहरूमा देवी(देवताका आकृतिहरू र पूजाका विधिहरू देख्न सकिन्छ। यी सबैले शक्ति पूजाको लामो परम्परालाई इंगित गर्दछन्, जसको एक महत्वपूर्ण कडी दशैं हो। नेपालमा मल्ल राजाहरूको पालादेखि दशैंले विशेष राजकीय र सांस्कृतिक महत्व प्राप्त गरेको देखिन्छ। काठमाडौं उपत्यकामा कुमारी पूजा, तलेजु भवानीको पूजा र दशैंका विभिन्न रीतिथितिहरू मल्लकालमै व्यवस्थित र संस्थागत भएको मानिन्छ। राजा जयस्थिति मल्लले समाजलाई विभिन्न वर्गमा विभाजन गरी चाडपर्व र रीतिरिवाजलाई व्यवस्थित गरेको मानिन्छ, जसमध्ये दशैं पनि एक हो। काठमाडौंको हनुमानढोका दरबारमा दशैंको बेला हुने राजकीय समारोह र जमराको विसर्जन मल्लकालदेखि नै चल्दै आएको परम्परा हो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि दशैं पर्वलाई राष्ट्रिय एकता र विजयको प्रतीकका रूपमा थप महत्व दिइयो। शाह राजाहरूले पनि दशैंलाई राजकीय चाडका रूपमा भव्यताका साथ मनाउने परम्परा कायम राखे। राजा, महाराजा र राणाकालीन प्रधानमन्त्रीहरूले दशैंमा सर्वसाधारणलाई टीका लगाईदिने परम्परा थियो, जसले शासक र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्थ्यो। यसले राज्यभरिका मानिसहरूमा एक प्रकारको राष्ट्रिय भावना र समान पहिचानको विकास गरेको थियो। यसरी दशैं केवल एउटा चाड मात्र नभएर नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक गौरवको प्रतीक हो। यो पर्वले असत्यमाथि सत्यको विजय, पारिवारिक एकता र सामाजिक सद्भावको सन्देश दिन्छ।
दशैं पर्वले नेपाली समाजमा सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै आएको छ । यस पर्वका परम्परा र रीतिरिवाजले मानिसहरूलाई एकताबद्ध गराउन र आपसी सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । दशैंको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको परिवारका सदस्यहरूको पुनर्मिलन हो। अध्ययन, रोजगारी वा अन्य कारणले टाढा रहेका व्यक्तिहरू पनि दशैं मनाउन घर फर्कन्छन्। यसले परिवारका सदस्यहरूबीचको आत्मीयता र सम्बन्धलाई मजबुत बनाउँछ, जुन सामाजिक सद्भावको आधारशिला हो। दशैंमा मान्यजनबाट टीका र जमरा लगाएर आशिर्वाद लिने चलन छ। यो परम्पराले ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने संस्कारलाई प्रोत्साहन दिन्छ। यसले पुस्तान्तरणको दूरीलाई कम गर्दै समाजमा आदर र श्रद्धाको भावना बढाउँछ। दशैंमा विभिन्न परिवार, छरछिमेकी र आफन्तहरू एक ठाउँमा भेला भई शुभकामना आदानप्रदान गर्छन्। सँगै बसेर मिठो(मसिनो खाने, सुखदुःखका कुरा गर्ने र रमाइलो गर्ने चलनले सामाजिक घुलमिललाई बढाउँछ। यस्ता जमघटले मानिसहरूलाई एकअर्काको नजिक ल्याउँछ र मनमुटावलाई कम गर्न मद्दत गर्छ। दशैंको अवसरमा पिङ खेल्ने, चङ्गा उडाउने, नाचगान गर्ने र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू गर्ने गरिन्छ। यी क्रियाकलापहरूमा विभिन्न वर्ग र समुदायका मानिसहरू सँगै सहभागी हुन्छन्। साझा खुसी र उल्लासले मानिसहरूबीचको भिन्नतालाई बिर्साएर एकताको भावना जगाउँछ।
दशैंको बेला कतिपय समुदायमा पुराना कटुता बिर्सेर मेलमिलाप गर्ने परम्परा पनि पाइन्छ। विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक भएकाले यसले खराब विचार र व्यवहारलाई त्याग गरी नयाँ सुरुवात गर्ने प्रेरणा दिन्छ। यसले समाजमा शान्ति र सद्भाव कायम राख्न मद्दत गर्छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। दशैं मूलतः हिन्दू धर्मावलम्बीहरूको चाड भए पनि नेपालका अन्य समुदायले पनि यसलाई आ(आफ्नो तरिकाले मनाउँछन्। यसले विभिन्न संस्कृतिबीचको आपसी सम्मान र समझदारी बढाउँछ। उदाहरणका लागि, नेवार समुदायमा मोहनी, किराँत समुदायमा साकेलाजस्ता पर्वहरू दशैंसँगै जोडिएर आउँछन्, जसले विविधतामा एकताको सन्देश दिन्छ। दशैंमा हुने किनमेल र उपहार आदानप्रदानले बजारलाई चलायमान बनाउँछ र यसले अप्रत्यक्ष रूपमा आर्थिक सहयोगको वातावरण पनि सिर्जना गर्छ। गरिब तथा असहायलाई सहयोग गर्ने परम्पराले सामाजिक उत्तरदायित्व र परोपकारको भावनालाई प्रोत्साहित गर्छ। यी सबै पक्षहरूले दशैंले नेपाली समाजमा एकताबद्धता, सहिष्णुता र आपसी सम्मानको वातावरण सिर्जना गरी सामाजिक सद्भावलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
