इलाम । अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ । इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।प्रहरीका अनुसार इलाम नगरपालिका–६ घोष गाउँमा प्रकाश तामाङको घरमा गएको पहिरोमा परेर २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ ।
त्यसैगरी सन्दकपुर गाउँपालिका–१ छाँगेमा छबि धन राईको घरमा पहिरो जाँदा ४३ वर्षीय भिमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको ज्यान गएको छ। माईजोगमाई गाउँपालिका–३ प्याङमा बर्मलाल सोङमीको घरमा गएको पहिरोबाट बर्मलाल (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङमी (४२) र १४ वर्षीया प्रकृती सोङमीको ज्यान गएको छ ।
यस्तै, देउमाई–३ लक्ष्मीबोटेमा गणेश मगरको घरमा पहिरोले २८ वर्षीय कृष्ण मगरलाई पुर्याएको छ । माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँमा मदन लिम्बुको घरमा पहिरो जाँदा आमा कृष्णमाया लिम्बु (५७), फुपु माया लिम्बु (५०) र पाँचथर मिक्लाजुङकी १७ वर्षीया नेहा राईको मृत्यु भएको छ ।
फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा गाईगोठ हेर्न गएका २८ वर्षीय सुरेश लिम्बु पहिरोमा पुरिएर मृत भेटिएका छन् । माईजोगमाई–६ ओडारेमा भक्तबहादुर थेवेको घरमा गएको पहिरोले २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे र ३ वर्षीया मुनुसा थेवेको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ५ जनाको सकुशल उद्दार गरिएको छ । अन्य बेपत्ता भएकाहरूको खोजी र राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरो प्रभावित स्थानहरूमा स्थानीय बासिन्दा, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । इलामका विभिन्न बस्तीमा अझै पनि पहिरोको जोखिम उच्च रहेको र मौसम नखुलुञ्जेल उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।
