संसद् पुनर्स्थापनाका लागि अदालत जान्छौँ : महेश बस्नेत

राजनीति समाचार

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत पार्टी र एमालेको धारण सार्वजनिक गर्दै बस्नेतले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने र चुनावमा त्यस्ता तत्त्वहरूलाई धुलो चटाउने समेत बताए । त्यो भन्दा अगाडि संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौ’, उनले भने– ‘त्यसमा पार्टी आधिकारिक ढङ्गले जाने वा वकिलमार्फत जाने भनेर हामी अन्तिम छलफल गर्दैछौं ।’

दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे । उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।

अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने उनको भनाइ थियो । यसो भन्दै गर्दा आफूहरु ‘दूधले नुहाएको’ नभएको भन्दै उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं । हामी दूधले नुहाएको भनेका पनि छैनौं । यति त भन्न पाइयो नि त । महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’

जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै बस्नेतले अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने बताए । ‘भोलि पार्टीका महत्वपूर्ण नेताहरुले धारणा राख्नुहुन्छ । २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ । यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ ।’