नेपाली कांग्रेसभित्र एकताको लागि बालकृष्ण पाण्डेको पाँच बुँदे अपिल

प्रवास राजनीति समाचार

काठमाडौं, असोज २३ – नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले पार्टीभित्र अपूर्व एकता र सुधारको आवश्यकता औंल्याउँदै पाँच बुँदे अपिल जारी गरेका छन्।

पाण्डेले जारी गरेको प्रेस विज्ञप्तिमा देशको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको उल्लेख गर्दै कांग्रेसले आत्ममूल्यांकन र सुधारको बाटोमा अघि बढ्नुपर्ने बताएका छन्। उनले विगतका कमजोरी स्वीकार गरी भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी पार्टी सञ्चालनमा जोड दिएका छन्।

उनका अनुसार, हाल असंवैधानिक रूपमा बनेको सरकारले संविधान र लोकतन्त्रमाथि प्रत्यक्ष प्रहार गरेकोले नेपाली कांग्रेसले कानुनी र राजनीतिक दुवै मोर्चामा लड्नुपर्ने अवस्था आएको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उनको दाबी छ।

पाण्डेले असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र पार्टीभित्रको एकतालाई सुदृढ पार्ने निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।

उनले पार्टीका सबै तहका पदाधिकारी, कार्यकर्ता र समर्थकहरूलाई एउटै मञ्चमा उभिन आग्रह गर्दै पाँच बुँदे अपिल प्रस्तुत गरेका छन् —
१. पार्टीभित्र स्थायी एकता कायम गर्न,
२. सुशासन र पारदर्शितालाई प्राथमिकता दिन,
३. भ्रष्टाचारमुक्त शासन र समृद्ध नेपाल निर्माणमा प्रतिबद्ध रहन,
४. विगतका कमजोरी स्वीकार गरी जनसेवामा केन्द्रित हुन, र
५. १५औं महाधिवेशनको मिति, स्थान तथा कार्यतालिका सहमतिमै तय गर्न।

पाण्डेले “बलियो कांग्रेस, सुदृढ लोकतन्त्र, भ्रष्टाचारमुक्त शासन, समृद्ध नेपाल र सुखी नेपाली” भन्ने लक्ष्यमा सबै एकजुट हुनुपर्ने बताएका छन्।