११ आश्विन २०७८, सोमबार

धर्म : भ्रम र यथार्थता

kamdardainik.com (First, Fast & Accurate)

जे.बी. पुरी
धर्म भनेको प्रमाणिक अर्थमा भन्नुपर्दा कुनै पनि वस्तुको अन्तर्निहित गुण अथवा उसले प्रदर्शन गर्ने चरित्र नै धर्म हो । एउटै धर्म भनेको ऊ जस्तै तात्विक गुण भएको वस्तु नै समान धर्मी वा एउटै धर्मको भनेर वैज्ञाानिकहरुले भन्ने गर्दछन् । तर, यहाँ त मानिस–मानिसबीच नै धार्मिक भिन्नता देखाएर एकले अर्कालाई उच्चो–निच्चो, राम्रो–नराम्रो असल–खराव भनेर भनेर अपव्याख्या गरिएको छ । मानिस–मानिसबीच फरक धर्म कदापि हुँदैन । मात्रै भू–बनोट, हावा–पानी, सहजता, दुर्लभता, माटोको प्रकृति, हावाको बहाव, जाडो, गर्मी समयको फरकपन आदि कारणले गर्दा शैली, रहन–सहन, सोचाईमा भिन्नता पक्कै पनि छ ।

मानवीय चेतनासँगसँगै विभिन्न कालखण्डमा जे कुराको अनुभूति गर्न पाए, देखे, भोगे त्यही कुरा एउटा अमीट छाप बनेर रह्यो । अहिलेको जस्तो बसोबासका लागि व्यवस्थित घर बनाउन सकिन्छ भन्ने चेतना उनीहरुमा थिएन । खेतीपाती गर्ने चलन पनि थिएन । विजुली त के आगोको समेत आविस्कार नभएको अवस्थामा जे कुराले उनीहरुको जीवनमा हाम्रो प्रभाव पार्छ, राम्रो रुपमा लिने र जे कुराबाट असुरक्षित छु भन्ने महसुस हुन्छ वा त्यो चिजबाट भय उत्पन्न हुन्छ, त्यसलाई भयंकर, डरलाग्दो खराव वस्तुमा चित्रित हुन्छ । जब मानिस भोक, प्यास, गर्मी, जाडो, निस्पट्ट अँध्यारोबाट पिरोलिएर छटपटाइरहेको हुन्छ, तब उनीहरु त्यसबाट छुटकारा पाउने उपायको खोजी गरिरहेको हुन्छ । रात समाप्त भएर घामको उज्यालोसँगै तोतोपनाको महशुस हुन्छ, जाडो र अँध्यारोले पिल्सिएको अवस्थाबाट उसले विस्तारै छुटकारा पाइरहेको हुन्छ । उसले देख्छ, माथि चम्किलो, उज्यालो तातो वस्तु देख्छ । मनमनै सोच्छ अथवा आफ्नो वरिपरीका मानिसलाई भन्छ –ऊ त्यो हेर त अँध्यारो र जाडोबाट छुटकारा दिलाउने त त्यो चिज पो रहेछ ! उसले राम्रो वस्तुको रुपमा चित्रित गर्दछ । घाम लाग्दै जाँदा त्यसको तातोले पोल्न थाल्छ, समयक्रमले पानी पर्छ, शितलता महशुस गर्छ । रातको अँध्यारोमा पनि आकाश खुल्ला भएको बेला तारा र चन्द्रमाहरुले केही प्रकाश दिएपछि उज्यालोको प्रत्याभूति गर्छ । त्यस्तै जे पाउँथे जंगलमा भेट्टाउँथे त्यही खाँन्थे, आगो नभएकोले काँचै खान्थे आगोको आविस्कार भएपछि आगोमा पाकेको खानेकुरा खाएपछि बेग्लै स्वाद पाए । घाम, पानी, आगोलाई असल प्रवृत्तिको रुपमा लिएर ईश्वरको रुपमा हेर्न थालियो । प्रकृतिलाई नै ईश्वर मान्ने प्रचलन बस्यो । पछि आएर चेतनास्तर वृद्धि हुँदै जाँदा व्यवस्थित बस्ती बस्न थाल्यो । खानेकुराको अभाव झेल्ने क्रममा खेती गर्न सुरु गरियो । ओढार, गुफामा धेरै जना एकै ठाउँमा बस्ने गर्दा एकआपसमा लडाई, झगडा हुँदा कमजोरहरुले असुरक्षाको अनुभूति गरे । विस्तारै मानिस घर निर्माण गरेर बस्ने सुरु गरे । त्यस क्रममा बस्तीको विकास भयो । मानिसमा जति राम्रा कुराको विकास हुँदै गयो त्यति नै मात्रामा खराब आचरण हुनेहरुको संख्या पनि विस्तारै बढ्दै गयो । परिणामस्वरुप बस्तीमा कमजोर पक्षलाई कुटपिट गर्ने, हत्या, हिंसा गर्ने, बलात्कार गर्नेजस्ता कुकृत्य बढ्दै गयो ।

त्यसलाई रोक्नका लागि समाजका भद्र व्यक्तिहरुको समूहले छलफल गरी नियमहरु बनाए ।कमजोरलाई संरक्षण दिनुपर्छ, जंगल, जल, जमीनमा सबैको बराबर हक लाग्छ भन्ने आदि कुरालाई ख्याल गर्दै केही नीति नियम बनाए । मौखिक रुपमा बनाइएका नीति नियमलाई लिपिवद्ध गरियो । त्यही नीति नियमलाइै कालान्तरमा इश्वरको वाणीको रुपमा व्याख्या गर्न थालियो । पालना गराउने कुनै बलियो निकाय नहुँदा कसैले गलत काम गरेमा ईश्वर नै गलत कार्य गर्नेलाई सजाय दिने र राम्रो कार्य गर्नेलाई इश्वर नै न्याय गर्ने विश्वास गर्न थालियो । ईश्वर सर्वव्यापी हुनु हुन्छ, मानिसलाई ढाँट्न सकिन्छ, ईश्वरलाई ढाँट्न सकिदैन भन्ने विश्वासको विकास भयो । शक्तिशाली, संरक्षकलाई ईश्वरको प्रतिरुपको रुपमा व्याख्या हुन थाले । विस्तारै मानिस त्यसैमा विश्वास गर्न थाले । यो क्रम चल्दै जाँदा इश्वरको बारेमा धेरै ठूलै बहसहरु चल्न थाले । फरक धारको विकास हुन थाल्यो, हिन्दू, बौद्ध, इस्लाम, इसाई जस्ता फरक–फरक नाममा व्याख्या वहसहरु हुन थाले । प्रकृतिक पुजक मानिस विस्तारै धार्मिक मत मतान्तरमा विभाजन भए । फरक धार्मिक सम्प्रदायको विकास भयो । सबैले आफ्नो ठीक, अरुको बेठिक भनेर प्रचार गर्न थालियो ।

जसले जसरी व्याख्या गरे पनि सबै धर्मको मूल मर्म भनेको एउटै हो । सबै धर्मले झुठो नबोल, अर्कालाई दुःख नदेउ, चोरी नगर, अर्काको लुटेर नखाउ, काम गरेर खाउ जस्ता कुराहरु उल्लेख पाइन्छ । मात्रै फरक के कुरामा छ भने हिन्दू धर्म मान्नेले शिव, विष्णु, देवी, गणेश मान्छन्, इस्लाम धर्म मान्नेले हजरत मोहम्मदलाई मान्ने गर्दछन् भने इशाई धर्म मान्नेले यशु ख्रीष्टलाई मान्छन् । सबै धर्मको अन्तिम गन्तव्य भनेको मुक्ति नै हो । मुक्तिको मार्ग सबै धर्ममा छ । त्यसैले यो राम्रो, यो नराम्रो, यो ठूलो, यो सानो भनेर व्याख्या विश्लेषण गर्नु गलत कुरा हो । धर्म भनेको जुनसुकै भए पनि त्यहाँ नैतिकता, असल आचरण, मानवीय कर्तव्यको बारेमा शिक्षा दिएको हुन्छ ।

त्यसकारण कसैले पनि नबुझी यो धर्म राम्रो, यो धर्म नराम्रो, यो ठूलो, यो सानो सही, यो गलत भनेर कसैप्रति द्वेषाभाव राखेर अपव्याख्या गर्नु कदापी हुँदैन् । सबै धर्मलाई समभावले हेर्ने बानीको विकास गर्नु जरुरी छ । जबकि कोही मानिस कुनै धर्म मानेकै कारण आफूलाई अब्बल र कोही तल्लो दर्जाको अनुभूति गर्नु नपरोस् । चाहे जुनसुकै धर्म किन नहोस् हरेक धर्ममा केही न केही कमी कमजोरी छ पक्कै पनि छ । केहीले धर्मको अपव्याख्या गरेका छन् । त्यसको सुधार गर्दै सर्व धर्म समभावको नारालाई अगाडि सार्नु जरुरी छ ।

त्यसो हुन सकेको खण्डमा कहीँ कोही जाँदा कसैले पनि आफ्नो परिचय लुकाउनु पर्दैन । जो जहाँ पनि खुला रुपमा आफ्नो कल्चर, संस्कार अनुसार प्रस्तुत हुन सक्षम हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *