लेखनाथ (कास्की), २६ असोजः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेललाई पर्यटनसंँग जोड्नुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको चौथो वार्षिक साधारणसभालाई आज पोखरामा सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरा पर्यटकीय राजधानी भएकाले खेललाई पर्यटनसँग जोड्न सक्यौँ भने पोखराको पर्यटन प्रवद्र्धन स्वदेशमा मात्र नभएर विदेशमा समेत हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वाधार बिना क्रिकेटको विकास हुन नसक्ने उल्लेख गर्दै उहाँले पोखरामा व्यवस्थित क्रिकेट मैदान निर्माणका लागि क्रिकेट सङ्घसँग महानगरपालिका सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतता समेत व्यक्त गर्नुभयो । क्रिकेट खेललाई व्यावसायिक रुपमा अगाडि बढाउन राष्ट्रिय एवं अन्तरराष्ट्रिय खेलाडीलाई न्यूनतम पारिश्रामिक दिएर भए पनि नियमित अभ्यास गराई राख्नुपर्ने उहाँको जोड थियो ।
“व्यावसायिक क्रिकेट अहिलेको महत्वपूर्ण विषय हो, हामी क्रिकेटको विकास र खेलाडीको आत्मबल बढाउने कार्यमा सक्रियतापूर्वक अघि बढ्छाँै,” प्रमुख आचार्यले भन्नुभयो । अन्तरराष्ट्रिय र प्रदेशस्तरका खेलमैदान निर्माण गर्न आवश्यक भएको जिकिर गर्दै उहाँले उपयुक्त ठाउँ हेरेर निर्माणका कार्य अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । पोखरालाई खेलकुदको हब बनाउन र खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा समेत अहम् भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशनकुमार सिंहले अन्तरराष्ट्रिय क्रिकेटको नियमानुसार कहाँ र कसरी कुन–कुन मैदान निर्माण गर्नेसँगै अन्तरराष्ट्रियस्तरकै खेलमैदान निर्माणका लागि जग्गा प्राप्त गर्न सङ्घ सक्रिय रुपमा लागेको बताउनुभयो । क्रिकेटले नेपाली खेलकुदमा दिशा निर्देशसँगै क्रिकेटको विकासका लागि गतिशील रुपमा अघि बढेको उल्लेख गर्दै क्रिकेटमा काठमाडौँपछि दोस्रो ‘भेन्यू’का रुपमा पोखरा रहेको जानकारी दिनुभयो ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले आगामी कार्यक्रमका बारेमा जानकारी दिँदै खेलाडी उत्पादन र खेल पूर्वाधार मुख्य लक्ष्य भएको बताउनुभयो । सो अवसरमा गण्डकीका विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी अपराजित पौडेल, सोयल कुँवर, सविन श्रेष्ठ, रोश्नीका मरासिनी, कुसुम गोदार, रचना चौधरी र सिमाना केसीलाई जनही रु १० हजारसहित सम्मान गरिएको थियो ।

