तेक्वान्दोले जोड्यो कोरिया–नेपालको मैत्री सम्बन्ध, कुक्किवनमा सांस्कृतिक एकताको उत्सव सम्पन्न

कोरियाअपडेट

रबि पराजुली
सौल/ दक्षिण कोरिया

अक्टोवर ५ तारिकका दिन तेक्वान्दो आत्माको जन्मस्थल कुक्किवनमा कोरिया र नेपालबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ।

“२०२५ तेक्वान्दोले जोड्ने कोरिया–नेपाल चुसोक सांस्कृतिक एकता महोत्सव” शीर्षकमा भएको सो कार्यक्रम कोरिया इन्टिग्रेटेड एजुकेशन एण्ड काउन्सलिङ डेभलपमेन्ट कम्पनी लिमिटेड (㈜한국통합교육상담개발원) द्वारा आयोजना गरिएको हो।

कार्यक्रममा दक्षिण कोरियास्थित नेपाली राजदूतावासका प्रतिनिधिहरू, नेपाली समुदायका अगुवा, तथा कोरियाली अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कुक्किवनको विशाल दोजाङमा क्यङमिन विश्वविद्यालय तेक्वान्दो प्रदर्शन टोलीले प्रस्तुत गरेको अनुशासन र ऊर्जा पूर्ण तेक्वान्दो प्रदर्शनले सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध बनायो। विश्व तेक्वान्दोको प्रतीकस्थलमै भएको यो प्रदर्शनले दुबै देशका सहभागीहरूबीचको मित्रता र उत्साह झल्कायो।

तेक्वान्दो पुम्से (आकृति अभ्यास) अनुभव सत्र कार्यक्रमको अर्को आकर्षण रह्यो।
मूजु तेक्वान्दो ट्रेनिङ सेन्टरकी प्राध्यापक सोल सुङ-रान र नेपालकी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री नविना मगरले सहभागीहरूलाई प्रत्यक्ष प्रशिक्षण दिए। सहभागीहरूले आधारभूत चालहरू अभ्यास गर्दै तेक्वान्दोको आत्मा र अनुशासनलाई नजिकबाट अनुभूत गरे।

कार्यक्रमले तेक्वान्दो मार्फत दुबै देशबीच सांस्कृतिक आदानप्रदान र आपसी समझदारीलाई बलियो बनाएको आयोजकहरूले बताएका छन्। नेपाली सहभागीहरूले कुक्किवनजस्तो विश्वस्तरीय स्थलमा यस्तो अवसर पाउनु गौरवको विषय रहेको जनाउँदै आयोजक तथा कुक्किवनलाई आभार प्रकट गरे।

कार्यक्रमले केवल खेलकुदमा सीमित नभई सांस्कृतिक समावेशिता र आपसी सम्मानको सन्देश फैलाएको सहभागीहरूको भनाइ थियो।