दक्षिण कोरियामा तमू विद्यार्थी सहयोगार्थ अक्षयकोष निर्माणको लागि ‘रिमै’ चलचित्र प्रदर्शन हुँदै

कोरियाअपडेट

बिष्णु गुरुङ

सौल /दक्षिण कोरिया ।

तमू धीं दक्षिण कोरियाले नेपालका आर्थिक रूपमा कमजोर तर मेधावी तमू विद्यार्थीहरूको शैक्षिक सहयोगार्थ अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित नेपाली सांस्कृतिक चलचित्र ‘रिमै’ को विशेष प्रदर्शन गर्ने भएको छ। चलचित्र प्रदर्शन कार्यक्रम २०२५ नोभेम्बर २ (आइतबार) का दिन सोलस्थित 종로구민회관 (Jongro Gumin Hoegwan) मा आयोजना हुने तय गरिएको छ।

गोरखा सिरानचोक र लिगलिङकोट फिल्म्स प्रा.लि. द्वारा निर्मित ‘रिमै’ तमू समुदायको संस्कृति, इतिहास, पहिचान, परम्परा र जीवनशैलीलाई कथामार्फत चित्रण गरिएको एक सांस्कृतिक चलचित्र हो। यसलाई उपेन्द्र सुब्बाले लेखन र खिलबहादुर गुरुङले निर्देशन गरेका छन्। आयोजकका अनुसार चलचित्रले बसाइँसराइ, सामाजिक संरचना, संस्कृतिको संरक्षण र समुदायको भावनात्मक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।

चलचित्र प्रदर्शन दिउँसो १२:०० बजेबाट सुरु हुने र प्रवेश टिकटको शुल्क २५,००० वोन निर्धारण गरिएको छ। सो कार्यक्रममा सहभागी भई नेपाली र तमू समुदायको सांस्कृतिक संरक्षण अभियानमा हातेमालो गर्न कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई आयोजकले आग्रह गरेको छ। कार्यक्रमबाट संकलित सम्पूर्ण रकम अक्षयकोषमा जम्मा गरी नेपालका मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सहयोग प्रदान गरिने जनाइएको छ।

यातायात सहजताका लागि डोङदेमुन स्टेशन (Dongdaemun) गेट नं. ३ बाट आठ मिनेट पैदल दूरीमा कार्यक्रमस्थल अवस्थित रहेको जानकारी दिइएको छ।

यस अभियानलाई सफल बनाउन तमू धीं दक्षिण कोरियाले समुदायका अग्रज, युवाहरू, संघ–संस्था र स्थानीय नेपाली समाजको सहकार्य अपेक्षा गर्दै सहभागी हुन सबैलाई हार्दिक अपिल गरेको छ।