काठमाडौं । शुक्रवार देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा १३ जनाको मृत्यु भएको छ। सबैभन्दा ठूलो दुर्घटना रुकुम पश्चिममा भएको छ, जहाँ जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना: रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित सडकमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा कमला वली, टेकजंग बुढा, दिलमाया बुढा, कल्पना नेपाल, मनिका वली, सर्मिला विक, गोपाल वली र सबिता विक रहेका छन्। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको सल्लेमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
स्याङ्जा: पुतलीबजार नगरपालिका–१४ आमडाँडास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४५ वर्षीय माधव प्रसाद लम्सालको घटनास्थलमै मृत्यु भएको छ।
प्युठान: माण्डवी गाउँपालिका–५ रम्दीस्थित सडकमा गाडी दुर्घटना हुँदा चालक २६ वर्षीय निरज नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको छ। गाडीमा सवार अन्य ३ जनालाई बुटवल रिफर गरिएको छ।
रूपन्देही: देवदह नगरपालिका–९ घोडाह जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय सम्सेर खानको सिद्धबाबा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
दाङ: घोराही उपमहानगरपालिका–१३ ओडारखोलास्थित सडकमा अटो दुर्घटना हुँदा अटोमा सवार ३६ वर्षीया बम कुमारी विकको नेपालगञ्जस्थित संजिवनी मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते अन्य ६ जनाको घोराहीमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्पा: रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २८ वर्षीय अर्जुन विकको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
