मलेसियाले नेपालबाट कामदार पठाउने वैदेशिक रोजगार संस्था छनोटका लागि तोक्यो १० मापदण्ड

मुख्य समाचार वैदेशिक रोजगार समाचार

काठमाडौं । मलेसियाले नेपालबाट मलेसियामा कामदार पठाउने वैध वैदेशिक रोजगार संस्थाहरूको संख्या घटाएर व्यवस्थित गर्ने नीति लागू गर्न लागेको जनाएको छ । मलेशियास्थित नेपाली दुतावासमा औपचारिक पत्र मार्फत जानकारी गराएको हो । नेपाल लगायत पाँच देशका लागि यस्तो मापदण्ड तय गरेको पत्रमा उल्लेख छ ।  यस प्रक्रियामा मलेसियाको मानव स्रोत मन्त्रालयले तयार पारेका १० वटा अनिवार्य मापदण्डहरू पूरा गर्ने संस्थाहरूलाई मात्रै वैदेशिक रोजगारका लागि मान्यता दिइनेछ । नेपाल सरकारले ती मापदण्ड पूरा गर्ने रोजगार संस्थाहरूको सूची आगामी १५ नोभेम्बर २०२५ भित्र मलेसियालाई पठाइसक्न भनेको छन । मलेसिया सरकारका अनुसार ‘यो नीति नेपाल–मलेसिया श्रम सम्बन्धलाई पारदर्शी, सुरक्षित र नैतिक बनाउने दिशामा महत्वपूर्ण कदम हुनेछ ।’

मलेसियाले तय गरेका १० मापदण्डहरू यस्ता छन् ।
— कम्तीमा पाँच वर्षको वैध सञ्चालन अनुमति रोजगार संस्था सम्बन्धित देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार) को सक्षम निकायबाट वैध दर्ता र लाइसेन्स प्राप्त गरी कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा हुनुपर्छ ।
— अन्तिम तीन वर्षमा कम्तीमा ३,००० कामदार पठाएको हुनुपर्ने : संस्थाले विगत पाँच वर्षभित्र कम्तीमा तीन वर्षमा ३,००० भन्दा बढी कामदारको व्यवस्थापन गरेको प्रमाण प्रस्तुत गर्नु पर्नेछ ।
—कम्तीमा तीन फरक देशमा कामदार पठाउने अनुभव
— संस्थाले विगत पाँच वर्षमा कम्तीमा तीन देशमा कामदार पठाएको अनुभव देखाउनु पर्नेछ ।
— आवश्यक सबै नियामक निकायबाट वैध लाइसेन्स प्राप्त ।
— प्रशिक्षण, मूल्यांकन, छनोट र कामदार पठाउने सबै प्रक्रिया सम्बन्धित सरकारी निकायबाट अनुमोदित र वैध हुनुपर्छ ।
— सदाचार प्रमाणपत्र (Certificate) या न्युनतम Conduct
— संस्थाको मालिक वा प्रमुख व्यक्तिले सम्बन्धित सरकारी निकायबाट जारी गरिएको ‘सदाचार प्रमाणपत्र’ पेश गर्न ुपर्नेछ ।
— नैतिक र कानुनी रूपमा सफा संस्था : कुनै पनि संस्थाले जबर्जस्ती श्रम, मानव बेचबिखन, श्रम कानुन उल्लंघन, चोरी वा अन्य आपराधिक गतिविधिमा संलग्न नभएको प्रमाण दिनु पर्नेछ ।

— आफ्नै प्रशिक्षण र मूल्यांकन केन्द्रः कम्पनीको स्वामित्वमा पूर्ण सुविधासहितको प्रशिक्षण तथा मूल्यांकन केन्द्र हुनुपर्छ, जसमा आवास, प्राविधिक तालिम र परिचयात्मक कार्यक्रम उपलब्ध हुनुपर्छ ।
— कम्तीमा पाँच अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिस पत्रः कामदार पठाइएका देशका कम्तीमा पाँच रोजगारदाताबाट लेखित सिफारिस  पेस गर्नुपर्नेछ, जसले संस्थाको सेवाप्रति सन्तुष्टि जनाएका छन्
— कम्तीमा तीन वर्षदेखि सञ्चालनमा रहेको स्थायी कार्यालयः संस्थाको कार्यालय कम्तीमा तीन वर्षदेखि स्थायी रूपमा सञ्चालनमा हुनुपर्छ, जसको क्षेत्रफल १०,००० वर्गफिट भन्दा कम नहोस् र आवश्यक सुविधा तथा पूर्वाधार उपलब्ध हुनुपर्छ।
— अघिल्लो भर्ती प्रक्रियासँग सम्बन्धित प्रमाणपत्र र कागजातहरूः संस्थाले विगतमा सबै भर्ती प्रक्रिया कानुनी र व्यवस्थित रूपमा पूरा गरेको प्रमाणित कागजातहरू पेश गर्नु पर्नेछ ।

मलेसियाको परराष्ट्र मन्त्रालयका अनुसार यी मापदण्डहरूको पालना हुने हो भने नेपाल–मलेसिया श्रम सहकार्य अझ पारदर्शी, सुरक्षित र टिकाउ बन्नेछ । मन्त्रालयले नेपाल सरकारलाई यस विषयमा आवश्यक समन्वय गर्न अनुरोध गर्दै दुबै देशबीचको वैदेशिक रोजगार व्यवस्थालाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरेको पत्रमा उल्लेख छ ।