हिरासतमा थुनुवा मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन

प्रशासन समाचार

कर्णाली,  कात्तिकः जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा थुनुवा गङ्गे सुनारको मृत्यु भएको प्रकरणबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोकजत्वमा आज पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिमा वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटा, मानवअधिकार सञ्जालका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारका तर्फबाट गीता सुनार सदस्य रहेका छन् ।

लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका २६ वर्षीय सुनार आज बिहान प्रहरी हिरासतमै अचेत अवस्थामा भेटिएका थिए । उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।