कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने

राजनीति समाचार

पाटन (ललितपुर), २७ कात्तिकः गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आआफ्नो धारणा राख्नुभएको थियो ।

पार्टीको बैठक यही कात्तिक २९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी आजको बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । बैठकपछि प्रतिक्रिया दिनुहुँदै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको महाधिवेशन सम्पन भएर चार वर्षको कार्यकाल पूरा भएको अवस्थामा विशेष महाधिवेशन हुँदैन भन्दै पार्टीलाई एक ढिक्का बनाएर जानुपर्छ भन्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीको बैठकमा सबैले आआफ्नो धारणा राख्नुभएको जानकारी गराउँदै जनसरोकारका विषष र देशको परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले पार्टीभित्र असल नेतृत्वको खोजी भइरहेको बताउनुभयो ।