पत्रकार महासंघ दक्षिण कोरिया शाखाका दुई पुर्व अध्यक्ष मैनाली र कुँवर सम्मानित

कोरियाअपडेट

सोमित अधिकारी 

सौल/ दक्षिण कोरिया ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले आयोजना गरेको विशेष साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रममा संस्थाको सुदृढीकरणमा दीर्घकालीन योगदान पुर्‍याउँदै नेतृत्वदायी भूमिकामा सक्रिय रहेका दुई वरिष्ठ पत्रकार—शाखाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार अशोक प्रसाद मैनाली र राजन कुँवर क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ।

दक्षिण कोरियाको सुवन स्थित सराक एभरेस्ट सभाहलमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेलले दुबै व्यक्तित्वलाई Certificate of Honor प्रदान गर्दै संस्थालाई व्यवस्थित र उचाइमा पुर्‍याउन उनीहरूले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरे।

कार्यक्रममा बोल्दै मन्त्री खरेलले विदेशमा रहेर पनि मातृभूमिको पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र सूचना क्षेत्रको विकासका लागि उनीहरूले गरेको योगदान उदाहरणीय रहेको उल्लेख गर्दै, “विदेशभूमिमा बसेर पनि नेपालको पत्रकारिता समुदायलाई एकीकृत र सक्रिय बनाउँदै अघि बढाउने तपाईँहरूको भूमिका प्रशंसनीय छ,” भने।

त्यसैगरी महासंघ दक्षिण कोरिया शाखाका पदाधिकारीहरूले मैनाली र कुँवरले संस्थाको संस्थागत विकास, पत्रकारहरूको हकहित संरक्षण र प्रवासी नेपाली पत्रकारिताको पहिचान अभिवृद्धिमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताएका थिए।

कार्यक्रममा महासंघका वर्तमान लगायत पूर्व पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कोरियामा क्रियाशील नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।