काठमाडौँ, ३ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुआत गरेको छ ।
रोमाञ्चक खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले हरायो । जितपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले योजनाबद्ध र आत्मविश्वासका साथ प्रस्तुत हुँदा जित हासिल भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “टस हारेर ब्याटिङको निम्तो पाउँदा खराब सुरुआत भयो, तर त्यसपछि आवश्यक योजना र निश्चित रणनीतिका साथ अगाडि बढ्यौँ । फाइटिङ स्कोर बन्यो र बलिङबाट पनि जित्छौँ भन्ने आत्मविश्वासले काम ग¥यो ।”
‘पावर प्ले’मा चार विकेट गइसक्दा धड्कन नै बढेको अनुभव सुनाउँदै टमटाले त्यसपछि ‘ब्याटिङ’मा कप्तान दीपेन्द्रसिंह ऐरीलाई दिएको भूमिका निभाउँदा र हरमित सिंहले आक्रामक खेल्दा जित सहज भएको धारणा राख्नुभयो । “दीपेन्द्र र आरिफ सेखबीचको साझेदारी पनि महत्त्वपूर्ण रह्यो, जसको मद्दतले प्रतिस्पर्धात्मक लक्ष्य बन्न पुग्यो र त्यसपछि बलिङबाट पनि जित्ने प्लानअनुसार अगाडि बढेको र त्यसमा सफलता हात पारेको हो”, उहाँले भन्नुभयो ।
हारपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले भने ब्याटिङमा चुक्दा पराजित भइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै खेलाडीलाई आ–आफ्नो जिम्मेवारी दिएका थियौँ। त्यसमा असफल भयौँ । आगामी खेलमा सुधार्दै लैजान्छौँ ।”
