बिष्णु गुरुङ
सउल, दक्षिण कोरिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्–दक्षिण कोरिया तथा नेपाली विद्यार्थी समाज (SONSIK) दक्षिण कोरियाको संयुक्त आयोजनामा आगामी डिसेम्बर ७, २०२५ (आइतबार) का दिन ‘वृहत अन्तरक्रिया कार्यक्रम’ आयोजना हुने भएको छ।
कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्षित गर्दै आयोजित यस कार्यक्रममा विभिन्न पेशा तथा पृष्ठभूमिमा रहेका नेपालीहरू, प्राध्यापक, श्रमिक, विद्यार्थी तथा विविध क्षेत्रका सरोकारवाला व्यक्तिहरूको सहभागी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहँदा नेपालीहरूले कार्यस्थल तथा दैनिक जीवनमा भोगिरहेका कानुनी, श्रम, भिसा, अधिकार र जिम्मेवारीसम्बन्धी समस्याहरूबारे स्पष्ट जानकारी तथा मार्गदर्शन उपलब्ध गराउनु रहेको आयोजक संस्थाहरूले बताएका छन्।
यसका लागि सम्बन्धित कानूनी व्यवसायी, श्रम–विशेषज्ञ, परामर्शदाता तथा सरोकारवाला व्यक्तिहरू उपस्थित रहनेछन्। सहभागीहरूले आफ्ना समस्या प्रत्यक्ष राखेर समाधानका उपाय, मार्गदर्शन तथा आवश्यक परे थप सहयोगका विकल्पहरूबारे जानकारी पाउने अवसर हुनेछ।
कार्यक्रम विवरण
- मिति: डिसेम्बर ७, २०२५ (आइतबार)
- समय: दिउँसो १२:०० बजेदेखि
- स्थान: 서울특별시 종로구 창신길 51, 5층 (창신동)
एनआरएनए दक्षिण कोरिया तथा SONSIK दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सक्रिय सहभागी भई ज्ञान, अनुभव, कानुनी सचेतना र आपसी सहकार्यलाई सुदृढ बनाउन आग्रह गरेका छन्।
