कोरियाली दूतावासको सहयोगमा मास्क कला प्रदर्शनी

मनोरन्जन समाचार

काठमाडौँ, १९ मङ्सिरः ललितपुर महानगरपालिकाको सहकार्य र दक्षिण कोरियाको इमाकोसँग महत्वपूर्ण सहयोगमा ललितपुरमा शुक्रबार मास्क कला प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा नेपालका ६० र दक्षिण कोरियाका ४० वटा मास्क प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा इमाकोका महासचिव छोए वु ह्यकले दक्षिण कोरियाली मास्कलाई शैक्षिक र सौन्दर्यताले भरिपूर्ण सांस्कृतिक पहिचानको रूपमा परिचय गराउनुका साथै घरेलु तथा अन्तरराष्ट्रियस्तरमा सांस्कृतिक पर्यटनको विकासलाई सहयोग गर्ने उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपाल र दक्षिण कोरियाबीचको समानता, समृद्ध मास्क परम्पराको जानकारी गराउँदै कोरियाको सांस्कृतिक र परम्परागत सम्पदाको एक हिस्सा रहेको उल्लेख गर्नुभयो । त्यसैगरी उहाँले बौद्ध धर्मबाट जोडिएका दुई राष्ट्रबीचको महत्वपूर्ण सम्बन्धका बारेमा चर्चा गर्दै मास्क परम्परासँग जोडिएको मौलिक समानता तथा रूपान्तरण, आध्यात्मिक, सामाजिक संस्थाको प्रतिनिधित्वको बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।

हरेक वर्ष हजारौँ कोरियाली पर्यटक नेपाल भ्रमण गरिरहेको प्रशङ्ग उल्लेख गर्दै राजदूत पार्कले मनोरम हिमालयहरू बाहेकका नेपालको सांस्कृतिक सम्पदाले कोरियाली पर्यटकलाई आकर्षित गर्न प्रमुख भूमिका रहेको उल्लेख गर्नुभएको थियो । नेपाल हस्तकला महासङ्घसँग कोरियाको इमाकोसँग सहकार्यले भविष्यमा दुई देशका कलाकारबीच सांस्कृतिक आदानप्रदान, रचनात्मक साझेदारी र अवसरलाई अझ प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका अधिकारी, नेपाल हस्तकला महासङ्घका अधिकारी दक्षिण कोरियाली राजदूत तथा दूतावासका कर्मचारी, इमाको कोरियाका अधिकारीलगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम आइतबार समापन हुनेछ ।