‘निर्वाचनमा जान हामी तयार छौँ’

राजनीति समाचार

काठमाडौँ, १९ मङ्सिर : नेपाली कांग्रेसको नेत्री पुष्पा भुसालले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्ण रुपमा तयार रहेको प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उहाँले निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्र गर्नुभयो । बैठकबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “यो बैठकमा सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा सहभागी हुन हामी तयार छौँ, तर त्यो वातावरण बनाउने जिम्मेवारी सरकारको हो ।”

बैठकमा उहाँले आफ्नो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यो अब निर्वाचनबाट मात्रै संविधानले प्राप्त गरेको उपलब्धिलाई प्राप्त गर्नेछ भनेर निर्णय गरेका छौँ ।”

त्यसैगरी सोही बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रकाश ज्वालाले भन्नुभयो, “सरकारको काम निर्वाचन गराउने हो, त्यसैले सरकारको अर्जुन दृष्टि निर्वाचन हुनुप¥यो । चुनावको वातावरणको निम्ति शान्ति सुरक्षा अझै सुदृढ गर्नुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले बैठकमा निर्वाचनबारे शान्ति सुरक्षा, विदेशमा रहेका नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकले त्यहीबाट मतदान गर्न पाउने विषय उठाउनुभयो ।