/श्रीराम श्रेष्ठ
नेपाली कांग्रेस देशको सवैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालको राजनीतिक इतिहासका हरेक कालखण्डमा भएका आन्दोलनमा लोकतन्त्र स्थापनाका लागि लडेको र नेतृत्वदायि भूमिका निर्वाह गरेको ऐतिहासिक पार्टी हो नेपाली कांग्रेस । लोकतन्त्र स्थापनाका लागि बीपी कोइराला, सुवर्ण शमशेर, गणशेमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले कांग्रेसलाई नेतृत्व दिएर अनवरत रुपमा देशमा प्रजातन्त्र स्थापनाका लागि आजिवन संघर्षमा बिताए । कैयौं नेता कार्यकर्ताले लोकतन्त्रका लागि बलिदानी दिए र हजारौं कार्यकर्ताले संघर्ष गरिरहे । यसर्थ पनि नेपालका लागि लोकतन्त्र र लोकतन्त्रका लागि कांग्रेस जीवित, संगठीत र सक्रिय रहनुपर्छ । नेपालको लोकतान्त्रिक आन्दोलनको मियो राजनीतिक पार्टी नेपाली कांग्रेस यतिबेला सम्भवत आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मोडमा उभिएको छ । देशमा भर्खरै सम्पन्न भएको ुजेन–जीको विद्रोहले परम्परागत राजनीति र स्थापित दलहरूको जग हल्लाइदिएको छ । यो विद्रोह केवल सत्ता परिवर्तनको खेल मात्र थिएन, यो त वर्षौंदेखिको कुशासन, ढिलासुस्ती, भ्रष्टाचार र नेतृत्वको यथास्थितिवाद विरुद्धको संगठित डिजिटल र भौतिक आक्रोश पनि थियो । यही जनविद्रोहको राप र तापबाट बनेको अन्तरिम सरकारले पाएको आफ्नो म्यान्डेट अनुसार आगामी फागुन २१ गते आम निर्वाचनको घोषणा गरिसकेको छ । सँगसँगै, नेपाली कांग्रेसले पनि आफ्नो १५औं महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसका अगाडि दुई ठूला र गम्भीर चुनौतीहरू एकसाथ खडा भएका छन् । पहिलो, १५औं महाधिवेशन मार्फत् पार्टीलाई साँच्चिकै रूपान्तरण गरेर नयाँ पुस्ताको भावनासँग जोड्नु र दोस्रो, त्यसको लगत्तै आउने फागुन २१ गतेको निर्वाचनमा जनताको विश्वास जितेर देशलाई स्थिरता र समृद्धिको बाटोमा देखिने र महसुस गर्न सकिने गरि अगाडि बढाउनु हो ।
सबैभन्दा पहिले कांग्रेसले यो बुझ्न जरुरी छ कि ‘जेन–जी विद्रोहको खस चुरो काराण र परिस्थितिको सिर्जना किन भयो ? २००७ साल, २०४६ साल र २०६२÷६३ सालको आन्दोलनको नेतृत्व गरेको कांग्रेसलाई किन आजको युवाले आफ्नो प्रतिनिधि ठानिरहेको छैन ? उत्तर स्पष्ट छ, हिजोको पुस्ताले स्वतन्त्रता खोजेको थियो, आजको पुस्ताले स्पष्ट परिणाम खोजिरहेको छ । त्रिभुवन विमानस्थलमा पासपोर्ट बोकेर लाइन लागेको युवाले बीपी कोइरालाको समाजवादको व्याख्या मात्र सुनेर चित्त बुझाउँदैन, उसले स्वदेशमै रोजगारी र आत्मसम्मान खोजिरहेको छ । पछिल्लो विद्रोहले स्पष्ट सन्देश दिएको छ कि अब हामीले राणा फाल्यौं, राजा फाल्यौं भनेर भजाउने दिन गइसकेको छ । अबको राजनीति प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र ‘मेरिटोक्रेसी’ अर्थात योग्यतामा आधारित हुनुपर्छ भन्ने सन्देश सडकबाट गुञ्जियो । नेपाली कांग्रेस आफैंमा एउटा ठूलो र लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो, यदि उसले यो बदलिएको मनोविज्ञानलाई सम्बोधन गर्न सकेन भने आगामी निर्वाचनमा यसको अस्तित्व केवल इतिहासको पानामा सीमित हुने खतरा छ । तसर्थ, कांग्रेसका लागि अबको बाटो भनेको परम्परा धान्ने मात्र होइन, आफूलाई पूर्णतः ‘रिबुट’ गर्ने हो ।
१५औं महाधिवेशन रूपान्तरणको प्रस्थानविन्दु
फागुन २१ को निर्वाचन अगाडि हुन गइरहेको १५औं महाधिवेशन कांग्रेसका लागि ‘गर वा मर’को अवस्था हो । यदि यो महाधिवेशन पनि पुरानै गुटबन्दी, भागबन्डा र ६०–४० को समीकरणमा रुमलिल्यो भने फागुन २१ गते जनताले ब्यालेट बक्समार्फत् कांग्रेसलाई कठोर सजाय दिनेछन् । तसर्थ, १५औं महाधिवेशनको मुख्य एजेण्डा ुकांग्रेस रूपान्तरण नै हुनुपर्छ । रूपान्तरण भनेको केवल अनुहार फेर्नु मात्र होइन, यो प्रवृत्ति फेर्नु हो । महाधिवेशनमा उठ्ने बहसहरू अब को सभापति बन्ने ? भन्नेमा मात्र सीमित हुनु हुँदैन, कस्तो कांग्रेस बनाउने ? भन्नेमा केन्द्रित हुनुपर्छ । जेन–जी आन्दोलनले उठाएका राजनीतिक मुद्दाहरु जस्तै भ्रष्टाचारमा शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा डिजिटलाइजेसन, जलवायु परिवर्तनका मुद्दा, र युवा उद्यमशीलतालाई महाधिवेशनको नीतिगत दस्तावेजमा प्रमुखताका साथ समेटिनुपर्छ । महाधिवेशनले यस्तो नेतृत्व र नीति पारित गर्नुपर्छ जसले भनोस् ‘हामीले गल्ती गयौं, हामी सुध्रियौं, र अब हामीसँग नयाँ नेपाल बनाउने स्पष्ट खाका छ ।’ पुराना नेताहरूको सम्मानजनक बहिर्गमन र नयाँ ऊर्जासहितको नेतृत्वको समायोजन बिना यो महाधिवेशन सफल मानिने छैन । जेन–जीले खोजेको जस्तो ‘स्मार्ट पार्टी’ बनाउनका लागि पार्टीको विधान, संरचना र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक देखिन्छ ।
फागुन २१ को निर्वाचन र जनतामा भरोसाको संकट
महाधिवेशन लगत्तै आउने फागुन २१ को संसदीय निर्वाचन कांग्रेसको लागि अग्निपरीक्षा हो । विद्रोहपछिको सरकारले गराउन लागेको यो निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन । जनतामा दलहरूप्रति चरम वितृष्णा छ । पुराना सबै खराब हुन् भन्ने भाष्य बलियो बन्दै गएको समयमा कांग्रेसले कसरी जनताको मन जित्ने भन्ने गम्भीर चुनौतीलाई सम्बोधन गर्ने गरि कांग्रेस एक ढिक्का भएर दृढता पुर्वक अघि बढ्नुपर्छ । कांग्रेसले अबको घोषणापत्रमा अमूर्त कुराहरू लेखेर हुँदैन । ६ महिनाभित्र यो गर्छु, एक वर्षभित्र यो गर्छु, भन्ने स्पष्ट क्यालेन्डर सहितको प्रतिबद्धता चाहिन्छ । अर्थतन्त्रको पुनरुत्थान कसरी गर्ने ? विदेशिएका युवालाई नेपाल फर्काउने ठोस आधार के ? शिक्षा र स्वास्थ्यमा देखिएको व्यापारीकरणलाई कसरी रोक्ने ? यी प्रश्नहरूको ‘टु द पोइन्ट’ उत्तर सहित कांग्रेस जनतामा जानुपर्छ । जेन–जी विद्रोहलाई कांग्रेसले आफ्नो विरुद्धको आन्दोलनको रूपमा होइन, बरु लोकतन्त्रको सुदृढीकरणका लागि भएको खबरदारीको रूपमा ग्रहण गर्नुपर्छ । ूयो विद्रोहले देखाएको बाटोमा हिंड्न कांग्रेस तयार छ, भन्ने सन्देश दिन सक्नुपर्छ । आन्दोलनका क्रममा उठेका जायज मागहरूलाई आफ्नो चुनावी एजेण्डा बनाउनु राजनीतिक बुद्धिमत्ता हुनेछ ।
महाधिवेशनले नीति राम्रो पास गरे पनि निर्वाचनमा फेरि तिनै पुराना, भ्रष्ट छवि भएका, वा ‘टेस्टेड एण्ड फेल्ड’ अनुहारहरूलाई टिकट दिइयो भने फागुन २१ को नतिजा कांग्रेसको पक्षमा आउने छैन । टिकट वितरणमा गुटको भागबन्डा होइन, जनमतको कदर (एयउगबिचष्तथ) र योग्यता (ऋयmउभतभलअभ) लाई आधार बनाउनुपर्छ । जनताले पत्याएका, समाजमा भिजेका र क्लिन इमेज भएका व्यक्तिहरूलाई अघि सार्नुपर्छ । अहिलेको कांग्रेसको चुनौती र दायित्व भनेको नेपाली कांग्रेस देशकै ठूलो र स्थापित लोकतान्त्रिक शक्ति भएको नाताले, अहिलेको संक्रमणकाललाई सही दिशा दिने जिम्मेवारी पनि उसकै काँधमा छ । जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति र अस्थिरताको जोखिमलाई चिर्दै देशलाई लोकतान्त्रिक विधिबाटै निकास दिनु कांग्रेसको धर्म हो । यदि कांग्रेस चुक्यो भने, दक्षिणपन्थी अतिवाद वा वामपन्थी उग्रवादले टाउको उठाउने खतरा रहन्छ, जसले मुलुकलाई थप द्वन्द्वमा फसाउन सक्छ । महाधिवेशनको तयारीमा होमिरहँदा कांग्रेस नेतृत्वले यो बिर्सनु हुँदैन कि उनीहरू केवल पार्टीको पदका लागि लडिरहेका छैनन्, उनीहरू लोकतन्त्रको भविष्य र नेपालको स्थायित्वका लागि लडिरहेका छन् । फागुन २१ को निर्वाचनले यो देशको आगामी दशकको दिशा तय गर्नेछ ।
निष्कर्ष
अन्त्यमा, नेपाली कांग्रेसका लागि १५औं महाधिवेशन र फागुन २१ को निर्वाचन एक सिक्काका दुई पाटा हुन् । महाधिवेशनबाट पार्टी भित्रको फोहोर सफा गरेर, नयाँ ऊर्जा र विचारसहित निस्किएको कांग्रेसले मात्र फागुन २१ को निर्वाचनमा ‘जेन–जी’ लगायत आम जनताको विश्वास जित्न सक्छ । समयले कांग्रेसलाई रूपान्तरणको अन्तिम मौका दिएको छ । इतिहासको ब्याज खाएर बाँच्ने सुविधा अब छैन । अबको कांग्रेसले बीपीको विचारलाई आजको प्रविधि र चेतनासँग जोड्नुपर्छ । ‘जय नेपाल’ को नारा तब मात्र सान्दर्भिक हुनेछ जब यसले मेचीदेखि महाकालीसम्मका, हिमालदेखि तराईसम्मका र १८ वर्षदेखि ८० वर्षसम्मका नागरिकको सपनालाई समेट्न सक्नेछ । फागुन २१ गते जनताले मतपेटिकामा खसाल्ने मत केवल एउटा पार्टीलाई दिइने भोट हुनेछैन, त्यो नेपालको लोकतन्त्र र कांग्रेसको रूपान्तरणप्रतिको जनमतसंग्रह हुनेछ । तसर्थ, १५औं महाधिवेशनलाई केवल कर्मकाण्डमा सीमित नराखी, यसलाई पार्टी पुनर्जागरणको महाअभियान बनाउँदै निर्वाचनमा होमिनु नै नेपाली कांग्रेसको आजको अपरिहार्य आवश्यकता र जिम्मेवारी हो ।
