‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो सार्वजनिक

मनोरन्जन

काठमाडौं २२ मंसिर । लिम्बु जातीको संस्कार र संस्कृतिमा आधारित पूर्वेली शैलिको गीत ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । जेपिजे इन्टरटेनमेन्टको लागि किशोर सुब्बा निर्माता रहेको गीतका रचनाकार बिवश वेनाम हुन भने सुनिता थेगिम र मनि ताम्लिङ्गले स्वर भरेका छन् । यसमा संगीत, एरेन्ज पनि मनि ताम्लिङ्गको नै रहेको छ । हेल्लो अमेरिका टिम, न्युयोर्कको प्रस्तुति रहेको लिरिकल भिडियोको सम्पादन ओपेरा ईन्टरटेनमेन्टमा भएको हो ।
लिरिकल भिडियो रिलिज संगसंगै यही डिसेम्वर २० तारिक देखि अमेरिकाको न्युयेर्क वरिपरि छायांकन हुने छ । यो एउटा म्युजिक भिडियोमात्र नभएर लिम्बु जातीको बिभिन्न पर्व समेट्नु पर्ने भएकोले सुटिङ्ग अबधि अधिक हुने निर्माता किशोर सुब्बाले जानकारी गराउनु भएको छ ।
नेपालको गाऊले युवती र सपनाको शहर अमेरिका बस्ने युवा बीचको प्रेमिल सम्बन्ध र लिम्बु जातीको कला, संस्कृतिमा आधारित रहने ‘युप्पारुङ बाँधेर’ को म्युजिक भिडियोको छायांकार सम्राट कार्की, सम्पादन मन्दिल श्रेष्ठ, कोरियोग्राफ गोबिन्द राईको रहने छ भने परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा स्वयंको रहने छ ।
हालै काठमाडौंमा सम्पन्न दोश्रो ओप्सना फिल्म तथा म्युजिक अवार्ड समारोहमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड आफ्नो पक्षमा पार्न सफल निर्देशक किशोर सुब्बाले मनैत हो, खुकुरी, माटो, भेडिगोठ, किन माया लाएछ, एउटा कथा, खुर्पा, रेश लगायत तीन दर्जन जति सानो ठुलो र विभिन्न भाषाका चलचित्रहरुको निर्देशन गरिसक्नु भएको छ ।