नेवारी सडक खाना महोत्सव तथा योःमरी उत्सव सुरु

समाचार

तुलसीपुर (दाङ), २३ मङ्सिरः यहाँको तुलसीपुरमा नेवारी सडक खाना तथा योःमरी उत्सव सुरु भएको छ । नेवारी खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेवा देय दवु तुलसीपुर र ‘नेवाः मिसा दवु’ को आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही मङ्सिर २९ सम्म सञ्चालन हुनेछ ।

तुलसीपुर उपमहानगरपालिकाको गेट नजिकै सडकमा सुरु भएको महोत्सवमा विभिन्न नेवारी परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सव दिउँसो ३ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा सम्य बजि सेट, यःमरी(चाकु), यःमरी खोवा, सेलरोटी, अण्डा बारा, जुम्ली झर, छोयला(बफ), छोयला(चिकन), चुकौनी, बोडी फ्राइ, आलु फ्राइ, आलुवोडी तामा, अण्डा फ्राइ, वासालगायत परिकार राखिएका छन् ।

महोत्सव शुभारम्भ कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले कला संस्कृति र परिकार संरक्षणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

यहाँ गत वर्षदेखि महोत्सव गर्न थालिएको हो ।