नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको स्विकृतीमा नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २६ औं बार्षिकोत्सवको अवशरमा आगामी पुष ४ देखि ६ गते सम्म युनिभर्सल अन्तराष्ट्रीय कराते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल सहित कतार, भारत र वंगलादेशका खेलाडीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ ले जानकारी गराउनुभयो ।
प्रतियोगितामा पुरुष तर्फ उमेर समुहमा ११-१२, १२-१३ र जुनियर, क्याडेट, तथा पुरुष कै सिनियर तर्फ -५०,-५५,-६०,६७ -७५,-८४,+८४ किलोका साथै एकल काता र महिला तर्फ उमेर समुह ११-१२, १२-१३ र जुनियर, क्याडेट तथा सिनियर तर्फ -५०,-५५,-६१,६७,+६८ किलो तौल समुह गरी कुल ४२ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक खपॉगीले जानकारी गराए । दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न सफल भईसकेको यस शाखाले प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने मुलुककै अग्रपंक्तीको डोजोको रुपमा परचित रहेका छ ।
गत भाद्र महिनामा भएको आन्दोलन र असोजमा प्राकृतिक प्रकोप वाढी पहिरोका कारण घरेलु मैदानमा प्रतियोगितामा आयोजना हुन नसकेका ले खेलाडीहरुमा आफ्नो क्षमता अभिवृद्धी गराउन नपाएका कारण उत्पन्न नैराश्यपनलाई अन्त्य गर्दै,समग्र करातेकर्मीहरुलाई प्रतियोगिताले पुनर्ताजगी बनाउने उदेश्य सहित अपेक्षाका साथ यो प्रतियोगिता आयोजना सन्चालन गर्न गईरहेको कार्यक्रम संयोजक खपाङगीले बताउनुभयो ।
नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालले यस अघि आफ्नो २६ बर्षे यात्रा पुरा गर्दै २६ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेकाछन ।नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २७ औं कार्यक्रम हो । साथै यस प्रतियोगिताले क्षमता,योग्यता, दक्ष र अनुभव भएरपनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय स्तरको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति यो प्रतियोगिता गतिलो माध्यम र गर्विलो प्लेटफर्म सावित हुने नेपाल सितोरियो कराते संघका प्रबक्ता समेत रहनु भएका कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले बताउनुभयो । तीन दिनसम्म सन्चालन हुने प्रतियोगिताका खेलहरु सातदोवाटो स्थित,कराते एकेडेमी कभर्डहलमा संचालन हुनेछ ।
