काठमाडौँ, २४ मंसिर २०८२ ।
वैदेशिक रोजगार विभागभित्र सेवाग्राहीलाई विभिन्न प्रलोभनमा पारी हैरानी गराउने १३ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
आज दिउँसो करिब १४:३० बजे, विभागमा अनलाइन फाराम भरेर दिने, श्रम स्वीकृतिमा सहजीकरण गरिदिने, तथा ठगीका घटनामा परेकाहरूको रकम असुल गराइदिने भन्दै सेवाग्राहीसँग मोलमोलाइ र चलखेल गरिरहेका अवस्थामा उनीहरू फेला परेको विभागले जनाएको छ।
विभागका कर्मचारी तथा ड्युटीमा खटिएका प्रहरी टोलीले सम्झाइ–बुझाइ गर्दा पनि ती व्यक्तिहरू उल्टै अपशब्द प्रयोग, गाली–गलौज, तथा सरकारी काममा बाधा पुर्याउँदै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको बताइएको छ।
पक्राउ परेका सबैजनालाई कानुन बमोजिम आवश्यक अनुसन्धान र कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको विभागले जानकारी दिएको छ।
